काठमाडौं, ८ साउन । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन (अनन्त)ले प्रतिनिधिसभाले हालै पारित गरेको नेपाल नागरिकता ऐन–२०६३ लाई संशोधन गर्न बनेको विधेयमा एमालेले दोहोरो चरित्र प्रदर्शन गरेको बताउनु भएको छ ।
उहाँले नागरिकताजस्तो संवेदनशील विषयलाई चुनावी राजनीतिक एजेण्डा नबनाउन चेतावनी दिनु भयो। केपी ओली नेतृत्वको सरकारले २०७५ सालमा संसदमा पेस गरेको विधेयक तथा २०७७ मा ल्याएको अध्यादेश र शुक्रबार प्रतिनिधिसभाले पारित गरेको नागरिकता ऐनका सबै प्रावधान एकै रहेको पुनले उल्लेख दाबी गर्नु भयो।
‘ओली सरकारले विधेयक र अध्यादेशमा जेजे प्रावधान अघि सारेको थियो। अहिले पारित भएको नागरिकता विधेयकमा हुबहु त्यही प्रावधान समावेश छ’, पार्टी सम्वद्ध राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको बैठकलाई सम्बोधन गर्दै आइतबार पुनले भन्नु भयो, ‘आफूले विधेक ल्याउने, अध्यादेशमा पनि त्यही ल्याउने अनि अहिले सरकार बाहिर भएका बेला अरुले त्यही प्रावधानसहितको विधेयक पास गर्दा राष्टघाती भनेर विरोध गर्ने एमालेको यो दोहोरो चरित्र सबैले समयमै बुझ्नुपर्छ।’
पुनले आफू राष्ट्रवादी र बाँकी सबै अराष्ट्रवादी देखाउन जायज नाजायज काम नगर्न एमाले नेतृत्वलाई सुझाव दिनु भयो।
पुनले नेपालको भू–राजनीतिक संवेदनशीलताको ख्याल गर्दै कोही पनि नेपाली नागरिक नागरिकताविहीन हुँनुहुँदैन भन्नेमा आफ्नो दल स्पष्ट रहेको बताउनु भयो। पुनले नागरिकता ऐनमा उल्लेखित वैवाहिक अंगीकृत नागरिकता सम्बन्धमा आफ्नो दलले संसदमा परिमार्जनको प्रस्ताव राखेको उल्लेख गर्नु भयो।
छिमेकी भारत र सार्क मुलुकको अनुभव र अभ्यास हेरेर अंगीकृत नागरिकताको प्रावधानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्ने विचार व्यक्त गर्नु। वैवाहित अंगीकृत नागरिकताको विषयलाई दाउपेचको राजनीतिक एजेण्डा बनाउन नहुनेमा जोड दिँदै पुनले सबै दलबीच समान धारणा बनाउन जरुरी रहेको बताउनु भयो।
पुनले त्यसका लागि इमान्दारीपूर्वक तयार हुन एमालेललाई आग्रह गर्नु भयो । सरकारले समेत प्रतिबद्धता जनाएकाले सबै मिलेर अंगीकृत नागरिकताको प्रावधान परिमार्जन गर्नुपर्ने पुनले स्पष्ट पार्नु भयो ।