गोरखा, ३० असार । गोरखाका स्थानीय तहले आर्थिक वर्ष २०७७/७८ मा करिब २२ करोड रुपैयाँ बजेट अनियमित तरिकाले खर्च गरेका छन् । ।
महालेखा परीक्षकको ५९ औं प्रतिवेदन अनुसार जिल्लाका ११ पालिकाको बेरुजु २१ करोड ९१ लाख ३४ हजार रुपैयाँ पुगेको हो । महालेखाले राष्ट्रपतिलाई बुझाएको गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन अनुसार जिल्लाका पालिकाहरुमध्ये प्रतिशतका आधारमा सबैभन्दा धेरै बेरुजु धार्चे गाऊँपालिकाको रहेको छ ।
सो गाऊँपालिकाको लेखापरिक्षण गरिएको कुल रकममध्ये २ करोड ६२ लाख १३ हजार रुपैयाँ बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ, जुन कुल परिक्षण रकमको ३ दशमलव ४५ प्रतिशत हो ।
यस्तै सिरानचोक गाऊँपालिकाको २ दशमलव शुन्य ६ प्रतिशत बेरुजु रहेको छ । लेखापरीक्षण गरिएको रकममध्ये हालसम्म उक्त पालिकाको बेरुजु रकम २ करोड २८ लाख ९५ हजार रुपैयाँ पुगेको हो ।
अजिरकोट गाऊँपालिकाको सबैभन्दा कम शुन्य दशमलव ८१ प्रतिशत बेरुजु रहेको छ । उक्त पालिकामा कुल लेखापरीक्षण गरिएको रकममध्ये ६६ लाख ९९ हजार रुपैयाँ बेरुजु रहेको पाइएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ ।
कम बेरुजु हुने दोस्रो पालिकामा शहिद लखन गाऊँपालिका रहेको छ । उक्त पालिकाको १ करोड ३० लाख २१ हजार रुपैयाँ बेरुजु छ, प्रतिशतका हिसावले यो शुय दशमलव ९८ प्रतिशत हो ।
यस्तै पालुङटार नगरपालिकाको हालसम्मको बेरुजु रकम ३ करोड २६ लाख ६० हजार अर्थात १ दशमलव ९ प्रतिशत, वारपाक सुलिकोटको २ करोड १७ लाख ६५ हजार अर्थात १ दशमलव ५७ प्रतिशत र चुमनुब्री गाऊँपालिकाको बेरुजु १ करोड ७ लाख ६५ अर्थात २ दशमलव ०१ प्रतिशत रहेको महालेखापरीक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै भिमसेनथापा गाऊँपालिकाको बेरुजु २ करोड १७ लाख ५६ हजार अर्थात १ दशमलव ९२ प्रतिशत, आरुघाट गाऊँपालिकाको १ करोड ५३ लाख ८२ हजार अर्थात १ दशमलव ३३ प्रतिशत, गण्डकी गाऊँपालिकाको १ करोड ८४ लाख ५३ हजार अर्थात १ दशमलव ५३ प्रतिशत र गोरखा नगरपालिकाको बेरुजु २ करोड ९५ लाख २५ हजार अर्थात १ दशमलव ४२ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।