जेनेभा — बिहीबार विभिन्न ७ देशमा कोरोना भाइरस (कोभिड–१९) को पहिलो संक्रमण देखिएपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सबै सदस्य राष्ट्रहरुलाई तयारीका लागि चेतावनी दिएको छ ।
‘प्रत्येक देश पहिलो केसका लागि तयार हुनैपर्छ,’ बिहीबार जेनेभामा आयोजित नियमित पत्रकार सम्मेलनमा डब्लूएचओका महानिर्देशक ट्रेडस एड्हानोम गेहब्रेयससले भन्नभुयो ‘कुनै पनि मुलुकले (कोभिड–१९) भित्रिन्न भनेर बस्न हुँदैन, त्यस्तो गरे गम्भीर गल्ती हुनेछ। कोभिड–१९ ले बोर्डरको मतलब राख्दैन।’ साथै महानिर्देशक गेहब्रेयससले कोरोना भाइरसले जात र जातीयतको पनि फरक नछुट्याउने र मुलुकको जीडीपी र विकासको स्तर पनि नहेर्ने भएकाले सबै मुलुकले निकै सतर्कता अपनाउनुपर्ने बताउनुभयो।
चीनमा तुलनात्मक रुपमा कोभिड–१९ संक्रमण घट्दै गए पनि युरोप र मध्यपूर्वमा यसको असर देखिन थालेपछि चिन्ताको विषय बनेको उहाँले। बिहीबार ब्राजिल, जर्जिया, ग्रीस, नर्थ म्यासेडोनिया, नर्वे, पाकिस्तान र रोमानियामा कोभिड–१९ को संक्रमण पहिलो पटक देखिएको छ।
‘हामी एकदमै निर्णायक मोडमा रहेका छौं,’ महानिर्देशक गेहब्रेयससले भन्नुभयो, ‘इरान, इटाली र दक्षिण कोरियामा देखिएको असरले कोभिड–१९ कति खतरनाक छ भनेर देखाएको छ।’ इरान, इटाली र दक्षिण कोरियामा अचानक संक्रमण बढेपछि चिन्ता बढेको पनि उहाँले बताउनुभयो । महानिर्देशक गेहब्रेयससले सही ढंगले सतर्कता र रोकथामका उपाय अपनाए यसलाई रोक्न सकिने पनि उल्लेख गर्नुभयो । सबै देशले मौसमलाई ध्यान दिँदै आइसोलेसन युनिट, औषधि, अन्य स्वास्थ्य उपकरणको उचित प्रबन्ध गर्नुपर्ने उहाँको भनाई छ। एउटा केस र सयवटा केसको पूर्वतयारी एउटै नहुने भन्दै सबै देश त्यसका पूर्ण रुपमा तयार भएर बस्नुपर्ने चेतावनी पनि उहाँले बताउनुभयो ।
विश्वभर कोरोना त्रास
अन्य मुलुकमा कोभिड–१९ को संक्रमण दरले चीनलाई उछिनेको छ । बिहीबारसम्म भाइरसको संक्रमण कम्तीमा ५० देशमा पुगेको छ ।
डिसेम्बरमा भाइरस देखिएयता चीनबाहिर ५ हजारभन्दा बढीमा संक्रमण पाइएको छ भने ७० जनाको मृत्यु भइसकेको छ । चीनमा मात्रै २ हजार ७ सय ८८ जनाको मृत्यु हुनुका साथै ७८ हजार ८ सय ३२ संक्रमित भएका छन् । कोभिड–१९ ले चीनपछि सबैभन्दा धेरै इरानमा २६ जनाको मृत्यु भएको छ भने २ सय ४५ जना संक्रमित पुष्टि भएका छन् । संक्रमितको संख्यामा वृद्धि भएपछि तेहरानले सबै सार्वजनिक क्षेत्र बन्द गरेको छ । चीनबाट आउने पर्यटकलाई निषेध गर्ने निर्णय पनि उसले गरेको छ। संक्रमित संख्याका हिसाबले चीनपछि सबैभन्दा धेरै दक्षिण कोरियामा दुई हजार २२ छ। बिहीबारसम्म दक्षिण कोरियामा १३ जनाको मृत्यु भएको छ।
कोभिड–१९ संक्रमित वृद्धि हुन थालेपछि विश्वभर यसले त्रास उत्पन्न गराएको छ। सार्वजनिक स्थलमा मानिसको उपस्थिति कम हुँदै गएको छ। धेरै देशले रोकथामका उपायमा जोड दिएका छन्। अमेरिकामा उपराष्ट्रपति माइक पेन्सको संयोजकत्वमा प्रकोप नियन्त्रण तथा रोकथाम कार्यलाई अगाडि बढाइने घोषणा गरिएको छ। अस्ट्रेलियामा पर्याप्त स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको व्यवस्था गर्न आदेश दिइएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों स्वयं नै कोभिड–१९ सम्बन्धी सचेतना र्यालीमा सहभागी भएका छन् ।
साउदी अरबले तीर्थयात्रु रोक्यो
इरानसहित मध्यपूर्वी देशमा कोभिड–१९ संक्रमितको संख्यामा वृद्धि भएपछि साउदी अरबले मुसलमान धर्मावलम्बीका पवित्रस्थल मक्का र मदिनालगायतका धार्मिक क्षेत्रमा विदेशी तीर्थालुलाई रोक लगाएको छ। साउदी अरबमा हालसम्म कोभिड–१९ को संक्रमण देखिएको छैन । विदेश मन्त्रालयले निर्णय अस्थायी भएको बताए पनि कहिलेदेखि प्रतिबन्ध हट्छ भन्नेबारे जानकारी दिएको छैन ।
अमेरिका–दक्षिण कोरिया सैन्य अभ्यास स्थगित
अमेरिका र दक्षिण कोरियाबीचको संयुक्त सैन्य अभ्यास स्थगित भएको छ । दक्षिण कोरियामा तैनाथ एक अमेरिकी सैनिकसहित दक्षिण कोरियाली सेनाका कम्तीमा २१ जनामा कोभिड–१९ संक्रमण पाइएपछि अर्को सूचना जारी नभएसम्मका लागिसैन्य अभ्यास रोकिएको हो।
नगर प्रमुख नै क्वारेन्टाइनमा
कोभिड–१९ संक्रमण फैलिएको इटालीको लम्बर्डी क्षेत्रका प्रमुख एट्टिलियो फोन्टाना स्वयं क्वारेन्टाइनमा गएका छन् । एक कर्मचारीमा भाइरस पुष्टि भएपछि उनी वारेन्टाइनमा गएका हुन् । ‘अहिले मलाई कुनै संक्रमण नदेखिए पनि दुई साता आफैंलाई आइसोलनमा राख्न प्रयासरत छु,’ उनले फेसबुकमा लेखेका छन् । लम्बार्डी क्षेत्रमा मात्र ३ सयभन्दा बढीमा कोभिड–१९ संक्रमण पाइएको छ र १० जनाको मृत्यु भएको छ। समग्र इटालीमा ६ सय ५५ जना संक्रमित भएका छन् र १७ जनाको मृत्यु भएको छ ।
पाकिस्तान र जापानमा विद्यालय बन्द
पहिलोपटक बुधबार दुई जनामा कोभिड–१९ को संक्रमण पाइएपछि पाकिस्तानले बिहीबार केही क्षेत्रका विद्यालय बन्द गरेको छ ।
जापानले अप्रिलसम्मका लागि सबै विद्यालयहरु बन्द गर्ने भएको छ। त्यहाँ हालसम्म २०७ जनामा संक्रमण पाइएको छ भने योकोहामा रोकिएको पानीजहाजमा ७ सय ४ जनामा संक्रमित पुष्टि भएका छन् । पानीजहाजका ४ सहित जापानमा ८ जनाको कोभिड–१९ ले मृत्यु भएको छ ।
त्यस्तै कोभिड–१९ कारण हङकङ र फ्रान्समा २–२, ताइवान र फिलिपिन्समा १–१ जनाको मृत्यु भएको छ।