काठमाडौं, २३ असार । डेंगुको संक्रमणबाट संखुवासभाको चैनपुर नगरपालिका–५ की सीतादेवी न्यौपानेको मृत्यु भएको छ । जिल्ला अस्पताल संखुवासभामा उपचारका क्रममा ५६ वर्षीया न्यौपानेको बिहीबार मृत्यु भएको डा. पंकज गुप्ताले जानकारी दिनुभयो।
प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार हुन नसकेपछि उहालाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । खाँदबारी ल्याइएपछि परिक्षण गर्दा उहाँलाई डेंगु पुष्टि भएको थियो ।
उच्च ज्वरो, रुघाखोकीसमेतको लक्षण देखिएको उहाँको उपचारमा ढिलाइ हुँदा ज्यान गएको अस्पतालले जनाएको छ । डेंगुसँगै उहाँलाई निमोनिया पनि देखिएको थियो ।
असारमा मात्रै १७ जना डेंगु संक्रमित भेटिएका छन् । यो रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग भएकाले सचेत हुन अस्पतालले आग्रह गरेको छ । डेंगु लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।