रासस, २१ असार । गण्डकी प्रदेशसभामा बजेट माथिको छलफल जारी छ । प्रदेशसभाको आजको बैठकमा सदस्यहरूले बजेटका सम्बन्धमा आ–आफ्ना धारणा राखेका छन् ।
बैठकमा प्रदेशसभा सदस्य रामशरण बस्नेतले बजेटमा एउटा र रातो किताबमा अर्कै आउने जस्ता प्रवृत्ति देखिएको जानकारी दिनुभयो । जनताका आवश्यकतातर्फ बजेट केन्द्रित नभएको उहाँले बताउनु भयो। यस बजेटबाट जनताका इच्छा र चाहना पूरा नहुने उहाँको भनाई छ ।
बाढीका कारण जनजीवन अस्तव्यस्त भएको अवस्थामा सरकारले बेवास्ता गरेको आरोप लगाउनु भयो। सरकारमा जवाफदेहिता नदेखिएको उहाँले बताउनु भयो ।
मनकुमारी गुरुङले आफ्नो साधनस्रोतलाई ख्याल गर्नुपर्ने अवस्थामा हैसियत अनुसार बजेट आएको बताउँदै धेरै विषयलाई बजेटले समेटेको बताउनु भयो । सरकारले जनतालाई अत्यावश्यक कतिपय नयाँ कार्यक्रम ल्याएको उहाँले बताउनु भयो।
कतिपय कार्यक्रम नीति तथा कार्यक्रममा परे पनि बजेटमा नसमेटिएको बताउँदै उहाँले रातो किताबमा ती विषय समेटिएर आउने विश्वास व्यक्त गर्नुभयो।
लेखबहादुर थापाले बजेट जनमुखी रहेको बताउनु भयो । करको दायरा फराकिलो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
सावित्रा रानाले सरकारले ल्याएको बजेट परिणाम दिने खालको हुनुपर्नेमा वितरणमुखी आएको बताउनु भयो। योजना छनोट विधि नै गलत अवलम्बन गरिएको उहाँले बताउनु भयो । यो बजेटले समृद्धिको यात्रा तय गर्न नसक्ने उहाँको भनाइ छ ।
भागवत प्रकाश मल्लले जनताका आवश्यकता र अपेक्षालाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो। मोहनप्रसाद रेग्मीले बजेट गन्तव्यमा पुग्ने किसिमको नभएको बतााउनु भयो ।