गोरखा १५, फागनु । बैदेशिक रोजगारीका क्रममा गएको चार महिनादेखि दुबईमा अलपत्र पर्नु भएकी गोरखाको शहिद लखन गाँउपालिका–७ बुङकोट आँपश्वाराकी यामकुमारी थापालाई स्वेदश फिर्ता ल्याइएको छ । सञ्चारमाध्यमहरुमा दुर्बइमा अलपत्र परेको समाचार सार्वजनिक भएपछि थापालाई नेपाल स्थित दुतावास, बिभिन्न संघसंस्थाहरुको पहलमा हिजो नेपाल ल्याइएको हो ।
अचानक उच्च रक्तचापको समस्या भएपछि दुर्बइको रसिद अस्पतालमा शल्यक्रिया गराएकी उहाँको स्मरण शक्तिमा समस्या आएको थियो । थापा हिजो बिहान १० बजे नेपाल एअरलाईन्सको उडानबाट नेपाल आईपुग्नु भएको छोरी सृजना थापाले जानकारी दिनुभयो । नेपाली दुतावास आबुधावीको विशेष सहयोगमा गोरखा समाज युएईले हवाई टिकट उपलब्ध गराई यमकुमारीलाई नेपाल फर्काइएको छोरी सृजनाले जानकारी दिनुभयो ।
उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रीमान लालबहादुर थापा, छोराहरु सन्तोष, दिनेश, छोरी सिर्जना थापा, ज्वाई रोशन राना र भाइ अतुल थापा लिन पुगेका थिए । घर ठेगाना समेत पहिचान हुन नसकेको अबस्थामा उहाँको बारेमा समाचार आएपछि खोजतलास गर्दै जादाँ थापा गोरखा बुङकोटको रहेको खुल्न आएको थियो ।
थापाको उद्धारका लागि युएईमा रहेका सामजिक संघसंस्थाहरुले पहल गरेको थियो ।थापा गएको ४ बर्षअघि रोजगारीको सिलसिलामा दुबईमा रहदै आउनु भएको थियो ।
४३ बर्षिया थापाको स्वास्थ्य अवस्था हाल सामान्य रहेपनि कहिलेकाही स्मरण शक्तिमा भने समस्या देखिएको परिवारले जनाएको छ । उहाँ हिजो नै गोरखा आइसक्नु भएको परिवारले जनाएको छ ।