काठमाडौं, १४ असार । नेकपा एमालेले पार्टीका कैलाली अध्यक्ष रतन थापालाई जिम्मेवारीबाट हटाएको छ । सुदूरपश्चिम प्रदेश कमिटीको बैठकले अध्यक्ष थापालाई अनुशासनको कारबाही गर्दै पदबाट हटाउने निर्णय गरेको हो ।
स्थानीय तहको निर्वाचनमा जिल्लामा आफ्नै पार्टीका उम्मेदवारलाई हराउन सक्रिय रहेको भन्दै उहाँलाई अध्यक्ष पदबाट हटाइएको प्रदेश सचिव धर्मराज पाठकले जानकारी दिनुभयो । उहाँको साधारण सदस्य भने कायमै रहनेगरी निर्णय भएको छ ।
‘प्राप्त भएका सिफारिश, प्रमाण तथा दस्तावेजहरूलाई मध्यनजर गर्दा कैलाली जिल्ला कमिटीका अध्यक्ष रतन थापाले पार्टीको विधानको धारा ८० को १, २, ३, ४, ५, ६, १२ र १३ बमोजिमको गम्भिर प्रकृतिको अनुशासनको उल्लंघन गरेको बैठकले ठहर गरको छ’ पाठकले भन्नु भयो।
पार्टीका कैलाली जिल्ला इन्चार्ज नारदमुनि रानाले प्रदेश कमिटीमा गरेको अनुशासन कारबाहीको सिफारिश तथा प्रदेश कमिटीमा सिफारिस साथ प्राप्त भएका तथ्य, प्रमाण तथा दस्तावेजहरूको अध्ययनपछि सो निर्णय गरेको उहाँको भनाइ छ ।
पार्टीको जिल्ला अध्यक्ष जस्तो जिम्मेवार व्यक्तिबाट गम्भीर प्रकृतिको अनुशासनको उल्लंघन भएको बैठकले ठहर गरेको छ । अध्यक्षबाट थापालाई हटाइएपछि रिक्त पदमा बहालवाला उपाध्यक्षलाई कार्यवाहक जिल्ला अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको उहाँले बताउनु भयो।
उहाँका अनुसार साउन १५ गतेभित्र जिल्ला अधिवेशन प्रतिनिधि परिषदको बैठक आयोजना गरि जिल्ला अध्यक्ष चयन गरिने छ ।