एजेन्सी, १२ असार । बलिउड सुपरस्टार शाहरूख खानले फिल्मी दुनियाँमा ३० वर्ष पूरा गरेका छन्।
यस विशेष दिनको अवसर पारेर फिल्म निर्माताले शाहरुख खानको आगामी फिल्म पठानको फर्स्ट लुक पोस्टर सार्वजनिक गरेका छन्।
पठानको फर्स्ट लुक पोस्टर सार्वजनिक भएसँगै कतिपयले यसलाई कपि गरिएको भन्दै प्रश्न उठाएका छन्।
फर्स्ट लुक पोस्टरमा किङ खान हातमा मेसिन गन लिएर पछाडिबाट पोज दिइरहेका छन्। यसअघि यस्तै पोस्टर हलिउड फिल्म बिस्टले पनि सार्वजनिक गरेको थियो।
यस्तो अवस्थामा बिग बोसका पूर्व प्रतियोगी र युट्युबर कमल आर खानले यी दुवै पोस्टर सामाजिक सञ्जालमा सेयर गर्दै शाहरुख खानको फिल्म पठानका निर्माताले मूल पोस्टरसमेत नबनाएको जिकिर गरेका छन्।
कपि गरेर फिल्म मौलिक नहुने भन्दै उहाँले कपिउड कहिल्यै नसुध्रिने भयो भनि ब्यङ्ग्य गरेका छन्।
उहाँले निर्माता, निर्देशक र अभिनेता मिलेर नयाँ मौलिक पोष्टर बनाउने दिमाग लगाउन नसक्नेले फिल्म कसरी राम्रो बनाउलान् भनि प्रश्न गरेका छन्।
सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको फिल्ममा शाहरुख खान, जोन अब्राहम र दीपिका पादुकोण मुख्य भूमिकामा छन्।
‘जिरो’को असफलतापछि पर्दामा नदेखिएका शाहरुख यसै फिल्म मार्फत पुनः एकपटक एक्सन अवतारमा प्रस्तुत हुँदैछन् । एक्सन थ्रिलर फिल्म ‘पठान’ लाई आउँदो वर्ष सन् २०२३ को जनवरी २५ मा हेर्न पाइनेछ। फिल्ममा सलमान खान पनि देखिनेछन् ।
उनी फिल्ममा टाइगर अर्थात् अविनास सिंह राठौरको भूमिकामा प्रस्तुत हुनेछन् । उहाँको ‘टाइगर’ अवतारलाई फिल्ममा सिद्धार्थले जोडेका छन् । पठानको कथाले ‘टाइगर ३’ मा निरन्तरता पाउने भएपछि शाहरुख र सलमानलाई एक्सन रोलमा हेर्न चाहने दर्शक निकै खुसी छन् ।