Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

मनकामनाको सुन्तला : जति बोटमा अड्छ उति मूल्य बढ्छ


13.1K
Shares

मनकामनाको सुन्तला : जति बोटमा अड्छ उति मूल्य बढ्छ

दीपक श्रेष्ठ
गोरखा १५, फागुन – ऐतिहासिक तथा प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरबाट प्रसिद्धि कमाएको गोरखा मनकामनाको पहिचान अब त्यतिले मात्र पनि अपुरे हुन थालेको छ । बिशेषगरी कात्तिक देखि फाल्गुन महिनासम्म हरेक फलफुल पसल र फलफुलको बजारमा मनकामनाको चर्चा हुने गर्छ त्यहाँ उत्पादन हुने सुन्तलाका कारण । जुनसुकै ग्राहक सुन्तला पसल या सुन्तलाको बजारमा पुग्दा सुन्तला देख्ने बित्तिकै उसले पहिले सोध्ने गर्छ, यो कहाँको सुन्तला हो ? अनि व्यापारीको जबाफ हुन्छ गोरखा अथबा मनकामनाको । यसले पनि के बुझ्न सकिन्छ भने मनकामनाको सुन्तलाको स्वाद चाख्न सवै लालाहित हुन्छन् । गोरखाको मनकामना क्षेत्रमा अहिले मात्र होइन पहिले देखि नै सुन्तलाका लागि चर्चित क्षेत्र मानन्छि । त्यहाँको ढाँटबारी क्षेत्रमा सुन्तला खेती नगर्ने परिवार प्राय शुन्य जस्तै छ । अन्य क्षेत्रको सुन्तला भन्दा बढि गुलियो र स्वादिलो हुने भएकाले मनकामनाको सुन्तलालाई सवै रुचाउने गरेका हुन् ।

मनकामना क्षेत्रमा कात्तिक महिना शुरु भएसंगै सुन्तला व्यवसायीहरु बगैचामा पुगेर सुन्तलाको मोलमोलाई गर्न शुरु गर्ने गर्छन । बोटमै छिटो ठेक्का लिदा अलि सस्तो पर्न जाने भएपछि ठेकेदारहरु कात्तिक लागेसंगै मनकामनाको सुन्तला बगैचामा सुन्तला खरिदका लागि डुल्ने गरेको बिगत २० बर्ष देखि सुन्तलाको व्यवसाय गर्दै आउनु भएका ठेकेदार लिलाम्बर थापाले बताउनुभयो । ‘यहाँ कात्तिक शुरु भएपछि बगैचा मै पुगेर सुन्तलाको मोलमोलाई शुरु हुन्छ, उहाँले भन्नुभयो, शुरुमै ठेक्का लिन सके अलि कम मूल्यमा पाइने र राम्रो नाफा गर्न सकिन्छ तर जति ढिलो भयो उति यहाँको सुन्तलाको मुल्य बढ्न थाल्छ ।’ मनकामना क्षेत्रमा सुन्तलाको बोटमा फुल खेल्ने बेलासम्म पनि लटरम्म पहेला सुन्तलाका दाना देख्न पाइन्छ । स्थानिय किसान दलबहादुर थापाले भन्नुभयो, ‘ माघको दोस्रो हप्तादेखि सुन्तलाको भाउ राम्रो आउछ त्यही भएर पनि यहाँका किसानहरुले ढिलोसम्म बोटमा सुन्तला राख्ने गरेका हुन् ।’

ढाँटबारी लगायतका आसपासका क्षेत्रका सुन्तला किसानहरुले मंसिरका अन्त्यदेखि फाल्गुनको अन्त्यसम्म सुन्तला बिक्रि गर्ने गरेको उहाँको भनाई छ । ‘अहिलेको साल शुरु–शुरुमा सानो सुन्तला किलोको ५० रुपैया देखि ठूलो १ सय रुपैया सम्ममा बिक्रि गरेका थियौ,’ थापाले भन्नुभयो, तर हिजो आज भने ठूलो सुन्तला किलोको १७० रुपैयासम्ममा बिक्रि हुन्छ ।’ करिव ६ सय बोट सुन्तला खेती गर्दै आएका थापाले सुन्तला बिक्रिबाट मात्रै बार्षिक ३ लाख रुपैयासम्म आम्दानी गर्दै आउनु भएको छ । मनकामनामा अत्याधिक मात्रामा धार्मिक पर्यटकहरु पुग्ने गरेकाले त्यहाँ उत्पादन हुने गरेको सुन्तला स्थानिय बजारमा समेत राम्रै बिक्रि हुने गरेको उहाँ बताउनु हुन्छ । ‘हामी कहाँ सवै किसानहरुले बारीमा रहेका सवै सुन्तला ठेकेदार मार्फत बिक्रि गर्दैनन्, थापाले भन्नुभयो, मनकामनाको बजारमा पु¥याएर खुद्रा मूल्यमा बिक्रि गर्दा झनै राम्रो मूल्य आउने भएकाले अधिकासंले केहीबोट बाँकी राखेर आफैले बजारमा समेत लैजाने गरेका छन् ।’

मनकामना क्षेत्रमा सुन्तला जति ढिलोसम्म राख्न सक्यो त्यति राम्रो मूल्य आउने भएपछि सुन्तला किसानहरुले लामो समयसम्म भण्डार गर्न मिल्ने गरी ढाटँबारी क्षेत्रमा ‘सुन्तला कोल्ड स्टोर’ समेत निर्माण गरेको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री कृषि आधनिकीकरण परियोजना सुन्तला जात फलफुल जोनको सहयोगमा त्यस क्षेत्रमा २ ओटा कोल्ड स्टोर निर्माणको काम शुरु भएको किसान थापाले जानकारी दिनुभयो । ‘स्टोर निर्माण भइरहेको छ, उहाँले भन्नुभयो, कोल्ड स्टोरमा सुन्तला राख्दा बैसाकसम्म राख्न मिल्छ भनेर प्राबिधिकहरुले भन्नुभएको छ ।’ थापा जस्तै ढाँटबारीकी लोकमाया श्रेष्ठले पनि ढिलो गरी बिक्रि गर्दा सुन्तलाको भाउ राम्रो आउने भएपछि आफुले ढिलो गरी बिक्रि शुरु गरेको बताउनु हुन्छ । उहाँले भन्नुभयो ‘अलिपछि अलि पछि बिक्रि गर्दा भाउ आउने भएकाले राम्रो नाफा हुन्छ, यहि सुन्तला काठमाण्डौ पठाउदा धेरैमा १ सय रुपैया किलोमात्र पाउछै तर आफैले यहाँ बेच्दा त्यो भन्दा धेरैमा बिक्रि हुन्छ ।’

उपयुक्त हावापानीका कारण पनि मनकामनाको सुन्तला लामो समयसम्म बोटमा अड्ने गरेको उहाँको भनाई छ । ‘ढिलोगरी बिक्रि गर्दा होलसेल भन्दा खुद्रामा बढि बिक्रि गरिन्छ, श्रेष्ठले भन्नुभयो, फाल्गुनको पहिलो हप्तासम्म पनि बोटैबाट सुन्तला टिपेर खान पाउदा उपभोक्ता पनि खुशी हुन्छन्, राम्रो मूल्य आउने भएपछि किसानहरुलाई पनि फाइदा ।’ उहाँले सुन्तलाको मौसम सकिदा समेत बोट सुन्तला पाउने भएपछि उपभोक्तालाई त्यसको चिज हुने भएकाले जति पछि उति राम्रो मूल्य पाउने गरेको बताउनुभयो । मनकामना क्षेत्रमा उत्पादन हुने सुन्तलाको बजारका लागि पनि कुनै समस्या नहुने अर्का किसान रुद्र बहादुर थापाको भनाई छ । ‘ठेकेदारहरु आउछन्, सुन्तलाको बगैचा नै ठेक्का लिन्छन् र अगाडी नै पैसा दिएर आफैले बोटको सुन्तला टिपेर लैजान्छन्, किसानहरुलाई कुनै समस्या हुदैन’ उहाँले भन्नुभयो । बजारमा राम्रो मूल्य, उपभोक्ताको रोजाई र उत्पादनका हिसावले राम्रो उत्पादन हुने भएकाले मनकामना क्षेत्रमा सुन्तला व्यवसायिक खेती समेत बढ्दै गएको थापाले जानकारी दिनुभयो ।

मनकामना क्षेत्रको सबै सुन्तला बजारमा पग्न बाँकी नै रहेको भन्दै यसबर्ष कति उत्पादन भएको त्यसको तथ्याङक संकलनको काम भइरहेको ढाटबारी कृषि सहकारी संस्थाका अध्यक्ष त्रृषि आलेले बताउनुभयो ।’ ‘यहाँ हरेकको बारीमा कम्तीमा १० ओटा भन्दा धेरै सुन्तलाका बोट छन्, उहाँले भन्नुभयो, ‘त्यसबाट एउटै परिवारले बार्षिक थोरैमा ५० हजार देखि २३ लाख रुपैयासम्म कमाउने गर्दछन् ।’ अन्य ठाउँको सुन्तलालाई समेत व्यपारीहरुले मनकामनको सुन्तला भनेर बिक्रि गर्न थालेको भन्दै अहिले त्यस क्षेत्रको सुन्तलाको पहिचान जोगाउन किसानहरुले सुन्तलामा स्टिकर टाँसेर बजारमा पठाउने गरेका समेत छन् ।

मनकामना क्षेत्रमा अहिले करिव ९८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला जात फलफुल जोन कार्यक्रम गोरखाका प्रमुख अजय अधिकारीले जानकारी दिनुभयो । ‘जिल्लाको कुल सुन्तला उत्पादन मध्ये मनकामना क्षेत्रमा मात्रै ५५ प्रतिसत सुन्तला उत्पादन हुन्छ, उहाँले भन्नुभयो, अन्य क्षेत्रको सुन्तला भन्दा मनकामनाको सुन्तलाको बजार बढि माग हुने समेत गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology