गोरखा, ८ असार । जिल्लाका तीन पालिकाका जनप्रतिनिधिलाई स्थानीय सरकार सञ्चालनबारे अभिमुखीकरण तालिम दिइएको छ । अजिरकोट र सिरानचोक गाउँपालिका तथा पालुङटार नगरपालिकाका जनप्रतिनिधिलाई अभिमुखीकरण तालिम दिइएको हो ।
तालिममा प्रशासनिक रुपमा पालिका सञ्चालन गर्ने विधि, तरिका, नियम र कानुनदेखि जनस्वास्थ्य र विकास निर्माणका बजेट विनियोजन बारे प्रशिक्षण गराएको थियो ।
अजिरकोटमा भएको एक दिने अभिमुखीकरण तालिम पूर्व प्रशासकदेखि कृषिविद्, शिक्षाविद् जनस्वास्थ्यविद् लगायतले सहजिकरण गर्नु भएको थियो ।
पूर्वराजदूत महेश मास्के, पूर्वमुख्य सचिव तथा राजदूत लीलामणि पौडेल, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा.मीनबहादुर श्रेष्ठ, आयुवेर्दीक चिकित्सक डा.उमेश श्रेष्ठ, शिक्षाविद प्राडा लेखनाथ न्यौपाने, जनस्वास्थ्यविद् डा.शरद वन्त, इन्दिरा पराजुली, अर्थविद् डा.जीवन अंगाई लगायतले पालिका चलाउने विधि, तरिका र कार्यक्रमबारे प्रशिक्षण दिनु भएको हो।
नयाँ पालिका जितेका जनप्रतिनिधिलाई कसरी पालिकालाई नयाँ बनाउने ? जनताको काम कसरी गर्ने ? विकास निर्माण कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराएको थियो ।
कार्यक्रममा नेकपा माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठको समेत उपस्थिती रहेको थियो ।