काठमाडौं, ४ असार । एसीसी महिला टी—२० च्याम्पियनसिपमा नेपालले लगातार दोस्रो जित हात पारेको छ । को दोस्रो खेलमा नेपालले कुवेतलाई २५ रनले पराजित गरेको छ । नेपालले पहिलो खेलमा भुटानलाई ५० रनले हराएको थियो ।
शनिबार दोस्रो जित निकाल्ने क्रममा नेपालले दिएको १०८ रनको लक्ष्य पछ्याएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८२ रनमात्र बनाउन सक्यो ।
कुवेतका लागि कप्तान अम्ना तारिक १४, मर्याम ओमर ५, जीफा जिलानी ६ र मरिम्मा हैदरले १४ रन बनाउनु भयो। नेपालकी सीता रानामगरले २, अस्मिना कर्माचार्य, संगीता राई र इन्दु बर्माले १—१ विकेट लिनु भयो।
टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०७ रन बनाएको थियो । नेपालका लागि कप्तान रुविना क्षेत्री र उपकप्तान इन्दु बर्माले ६० रनको साझेदारी गर्नु भयो । रुविनाले २७ बलमा ४ चौकासहित ३४ र इन्दु ३३ बलमा २ चौकासहित २८ रनमा अविजित रहनु भयो ।
त्यस्तै ओपनर विन्दु रावलले ११ र ज्योति पाण्डेले १५ रन जोडनु भएको थियो । बलिङतर्फ कुवेतका लागि मरिम्मा हैदरले ४ ओभरमा १० रन खर्चेर २ विकेट लिनु भयो। मर्याम ओमरले ४ ओभरमा १५ रन खर्चेर १ विकेट लिनु भयो । खदिजा खालिलले एक विकेट लिनु भयो ।