गोरखा, १ असार । स्थानीय निर्वाचन २०७९ सम्पन्न भएको महिना दिन पुग्न लाग्दासमेत गोरखाका ९२ प्रतिशत उम्मेद्वारहरुले खर्च विवरण बुझाएका छैनन् । निर्वाचन कार्यालय गोरखाले तोकेको हदम्यादअनुसार आगामी ६ असारमा कार्यालय समयभित्र गोरखाका ११ वटै स्थानीय तहमा उम्मेदवार बनेकाहरुले सम्पूर्ण खर्च विवरण बुझाई सक्नुपर्नेछ । तर, तोकिएको समय सकिन लाग्दासमेत हालसम्म जिल्लाका १७२ उम्मेदवारले मात्र निर्वाचन खर्च विवरण बुझाएका छन् ।
निर्वाचनको नतिजा सार्वजानिक भएको ३० दिनभित्र आयोगलाई विवरण बुझाउनुपर्ने हुन्छ । सोहीअनुरुप जिल्ला निर्वाचन कार्यालयले सार्वजानिक सूचना जारी गरी विवरण बुझाउन सबै उम्मेदवारहरूलाई आग्रह गरेको थियो । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लाका दुई हजार २२ जनाले उम्मेदवारी दिएका थिए । यसैगरी ३३ जना कार्यपालिका सदस्य पनि थपिँदा दुई हजार ५५ जनाले विवरण बुझाउनु पर्ने निर्वाचन कार्यालयले जनाएको छ । जसअनुसार अब एक हजार २३ जनाले निर्वाचन खर्च विवरण बुझाउन बाँकी रहेको देखिन्छ । अहिलेसम्म मात्र ८.३६ प्रतिशतले विवरण बुझाएका छन् ।
विवरण आउने क्रम जारी रहेको छ । तर अब धेरै दिन नभएकाले सबैले समयमै विवरण बुझाउने आशा गरेको कार्यालयका सूचना अधिकारी रविलाल सुवेदीले बताउनु भयो हालसम्म धार्चे गाउँपालिकाका १२, अजिरकोट गाउँपालिकाका १९, गोरखा नगरपालिकाका २९, बारपाक सुलिकोट गाउँपालिकाका १६ र गण्डकी गाउँपालिकाका १२ जनाले विवरण बुझाएका छन् ।
यसैगरी शहीद लखन गाउँपालिकाका १२, आरुघाट गाउँपालिकाका ५२, सिरानचोक गाउँपालिकाका ३, चुमनुब्री गाउँपालिकाका २, पालुङटार नगरपालिकाका ११ र भीमसेन थापा गाउँपालिकाका १ जना गरी कुल १६९ जनाले विवरण बुझाएका छन् । तीन जना कार्यपालिका सदस्यहरूले पनि निर्वाचन खर्च विवरण बुझाएको सूचना अधिकारी सुवेदीले जानकारी दिनु भयो । निर्वाचन सकिएको एक महिना पुग्न लाग्दा पनि अधिकांश उम्मेद्वारले खर्च विवरण नबुझाएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।