काठमाडौं, २५ जेठ । दाङमा छोरी हत्या गरेको आरोपमा १५ वर्षीया आमा पक्राउ परेका छन्।
राप्ती गाउँपालिका— ३ की १५ वर्षीया आमालाई आफ्नै छोरीको हत्या आरोपमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए।
उनले जेठ ९ गते छोरीलाई जन्म दिएकी थिइन्।
काफ्लेका अनुसार मंगलबार छोरी रोएपछि उनले स्तनपान गराउन थालिन्। तर दूध नपाएपछि शिशु रूने क्रम रोकिएन।
त्यसपछि आवेगमा आएर ती किशोरी आमाले आफ्नी नाबालिका छोरीलाई सेप्टिक ट्याङ्कीमा फालेको प्रहरी उपरीक्षक काफ्लेले बताउनु भयो।
ती किशोरी माइतीमा बस्दै आएकी थिइन्। हाल कामको सिलसिलामा मुस्ताङमा रहेका स्थानीय २२ वर्षीय विकास घर्तीले ती किशोरीसँगको आफ्नो सम्बन्ध स्वीकार गरेको एसपी काफ्लेले जानकारी दिनु भयो।
शिशुको शवको पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ ।