काठमाण्डौं । संविधान संशोधनका लागि नेकपाद्वारा गठन गरिएको भनिएको कार्यदलमा बस्न स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ र केन्द्रीय सदस्य खिमलाल देवकोटाले अस्वीकार गर्नुभएको छ । सोमबार बिहान सचिवालय सदस्य माधवकुमार नेपालले नेम्वाङ र देवकोटालाई छलफलका लागि आफ्नो निवासमा बोलाउनुभएको थियो ।
भेटमा दुवैले नेताले कार्यदलमा बस्न असहमति जनाउनुभएको हो । संविधान संशोधन जस्तो कुरा जनतालाई थाहा दिएर गर्नुपर्ने भए पनि गोप्य रूपमा राख्न खोजेको भन्दै जनतालाइ झुक्याएर संविधान संशोधन गर्न नसकिने नेम्वाङको प्रतिक्रिया रहेको थियो ।
राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्यको हैसियत एकै बनाउने र बाहिर आएजस्तै नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन बाटो खोल्ने हो भने कार्यदलमा बस्न सकिँदैन, भन्ने जवाफ देबकोटाले पनि फर्काउनुभएको नेकपाका नेताहरूले बताएका छन् ।
जनताले मत नदिएर हराएकालाई पनि राष्ट्रियसभामा लगेर प्रधानमन्त्री बनाउने गरी संविधान संसाधेन गर्न लागेको भन्दै सर्वत्र सरकार र नेकपाको आलोचना भइरहेको छ ।