गोरखा, ५ जेठ । गोरखाको धार्चे गाऊँपालिका ५ को माछाखोलामा नेपाली सेनाले १ शय २० फिट लामो बेलिब्रिज निर्माण सम्पन्न गरिएको छ । गोरखा हुँदै चीन जोड्ने सडकखण्ड अन्तर्गत करीब २ करोड रुपैयाँ लागतमा निर्माण भएको पुलको आज (बिहीबार) एक कार्यक्रमका बीच नेपाली सेनाका प्रधानसेनापती प्रभुराम शर्माले उद्घाटन गर्नुभयो ।
पृथ्वीराजमार्ग अन्तर्गत बेनिघाट, आरुघाट लार्के सडक हुँदै तिब्बतको सीमा क्षेत्रसम्म सडक निर्माण भैरहेको छ । २०७४ सालदेखि निर्माणको जिम्मा लिएको सेनाले अहिलेसम्म ३२ किलोमिटर सडकको ट्रयाक निर्माण पूरा गरी सकेको छ । दोभानसम्मको १८ किलोमिटर खण्डमा गाडी चल्न सुरु गरेको सडक निर्माण कार्यदलका प्रमुख मेजर विनोद भट्टले जानकारी दिनु भयो ।
चीनको सीमाको लार्के भञ्ज्याङसम्मको सडकको लम्बाई करीव १ शय किलोमिटर हुने अनुमान गरिएको छ । सीमासम्म पुग्नका लागि अझै करीव ६५ किलोमिटर ट्रयाक निर्माण बाँकी छ । स्रोत साधन र जनशक्तिको अभाव नभए अबको २ वर्षमा लार्केभञ्ज्याङसम्मै ट्रयाक निर्माण गरिसक्ने सेनाको लक्ष्य रहेको छ ।
उद्घाटन समारोहमा रक्षा सचिव किरणराज शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ शर्मा, सडक विभागका निमित्त महानिर्देशक शिवप्रसाद नेपाल, पुल महशाखाका उपमहानिर्देशक उमेशविन्दु श्रेष्ठ लगायतको सहभागी रहेको थियो ।