गोरखा, २६ वैशाख । गोरखा जिल्लामा आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि मदिराजन्य पर्दाथको बिक्री बितरण तथा सेवनमा पूर्ण रुपमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय गोरखाले स्थानीय तह निर्वाचनमा शान्तिपूर्ण, भयरहित बनाउन बैशाख २७ गते मौन अवधी सुरु भएदेखि परिणाम नआउँदा जेठ ७ गतेसम्मका लागि मदिरा सेवन तथा बिक्रीमा प्रतिबन्ध लगाइएको हो ।
गत सोमबार बसेको सर्वपक्षिय बैठकले जिल्लाभर नै होटल, रेष्टुरेन्ट लगायतका अन्य पेशा व्यवसाय समेत बिहान ७ बजेदेखि साँझ ९ः३० बजेसम्म मात्र सञ्चालन गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यले जानकारी दिनुभयो ।
सबै मतदान केन्द्रमा प्राथमिक उचारका लागि ‘फस्ट एड बक्स’ राख्ने र त्यसको ब्यवस्थापन जिल्ला निर्वाचन कार्यालयले गर्ने प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनु भयो ।
गोरखा नगरपालिका भित्रका मतदान बाहेकका केन्द्रमा निर्वाचन आयोगले नै प्राथमिक उपचारका सामग्री जिल्ला निर्वाचन कार्यालय मार्फत पठाएको छ ।
नगरपालिका भित्रका ग्रामिण केन्द्रमा प्राथमिक उपचार सामग्री पठाउने र अस्पताल, स्वास्थ्य संस्था नजिक भएका ठाउँमा त्यहाँबाटै ब्यवस्थापन गर्ने निर्वाचन कार्यालयले जनाएको छ । मतदानको दिन सवारी ब्यवस्थापन गर्दा जिल्ला प्रशासन कार्यालयबाट पास जारी गर्ने र अनुमती लिएका सवारी साधनले मात्र संचालन गर्न पाउने निर्णय समेत भएको छ ।