काठमाडौं, २३ वैशाख । नेपाली राष्ट्रिय क्रिकेट टोली एक दिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा जिम्बावे ‘ए’ सँग ३ विकेटले पराजित भएको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३१.३ ओभरमा १३६ रन बनाउँदा अलआउट भयो।
नेपालका लागि सोमपाल कामीले सर्वाधिक ३० रन बनाए। करण केसीले २५ रन बनाउँदा ओपनर कुशल भुर्तेल १९ र दीपेन्द्रसिंह ऐरी १८ रनमा आउट भए। बाँकी कुनै पनि नेपाली ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
आसिफ र आरिफ शेख समान ५—५, रोहित पौडेल ३ रन, आदिल आलम २ रन, सन्दीप लामिछाने ४ रन र शुसन भारी शून्य रनमा आउट भए। सागर ढकाल १ रनमा अविजित रहे।
जिम्बावेका लागि ब्राड इभान्सले सर्वाधिक ४ विकेट लिए। यस्तै भिक्टर न्याउची, ब्राण्डन माभुता र जुवाओले समान २—२ विकेट लिए।
सिरिजको दोस्रो एकदिवसीय भोलि र तेस्रो एकदिवसीय सोमबार हुनेछ। यसअघि भएको टी—२० सिरिज १—१ को बराबरीमा सकिएको थियो।