मकवानपुर । गृहमन्त्री रामबहादुर थापा (बादल) ले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड रुपैयाँ कमिसन मागिएको घटनाको सरकारले छानबिन गर्ने बताउनुभएको छ । गृह मन्त्रालय र बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा आईतबार भएको प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै यस्तो बताउनु भएको हो ।
मन्त्री थापाले ७० करोड रुपैयाँ कमिसनको डिल गरिरहेको अडियो सार्वजनिक भएपछि बिहीबार राजीनामा दिएका बाँस्कोटाविरुद्ध सरकारले छानबिन गर्ने बताउनुभयो । उहाँले सभामुख प्रकरणको हल भइसकेको र अहिले मन्त्रीको विषयमा सरकारले पनि छानबिन गर्ने बताउनुभयो ।
‘बाँस्कोटाजीले नैतिकताका आधारमा राजीनामा दिनुभएको छ,’वाग्मती प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्न हेटौंडा आउनुभएका थापाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै भन्नुभयो, ‘यो विषयमा सरकारले आवश्यक छानबिन गर्नेछ । उहाँको विरुद्ध सरकारका विभिन्न निकायले आवश्यक अनुसन्धान गर्नेछ ।’
नेकपा सचिवालय बैठकमा पार्टीबाट पनि छानबिन हुनु पर्ने माग उठिरहेको बेला सचिवालय सदस्य रहेका थापाले बाँस्कोटाविरुद्ध सरकारका निकायले मात्रै छानबिन गर्ने बताउनुभयो । उहाँले अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी को बहस पनि उपयुक्त ढंगले टुंगो लगाउने दाबी गर्नुभयो ।