गोरखा, १२ वैशाख । गोरखा नगरपालिकाको मेयरको उम्मेद्वार छनौटप्रति असन्तुष्ट कांग्रेस कार्यकर्ताद्रारा सदरमुकामस्थित जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।
नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले नगरपालिकाको मेयरको टिकट विश्वदेव श्रेष्ठलाई दिएको भन्दै कार्यकर्ताले जिल्ला कार्यसमितिको कार्यालय तथा गोरखा नगर कार्यसमितिको कार्यालयमा तालाबन्दी र धर्ना गरेका हुन् । पार्टीले एक्लाएक्लै चुनावी मैदानमा प्रतिस्पर्धा गर्ने निर्णय गरेर चुनौतिपूर्ण समयमा प्रतिस्पर्धा गर्न सक्ने राम्रालाई छाडेर आफन्त र गुट हेरेर मेयरको टिकट दिएकाले पार्टी कार्यालयमा तालाबन्दी गरिएको धर्नामा सहभागी एक कार्यकर्ताले बताएका छन् ।
निर्णय फिर्ता नलियुञ्जेल तालबन्दी र धर्ना जारी राख्ने उहाँले बताएका छन् । यसअघि मेयर पदका लागि बालवाला मेयर राजनराज पन्त, जिल्ला कार्य समितिका सचिव किशोरजंग थापा र प्रदेश समितिकी सदस्य शोभा अधिकारी पनि आकाँक्षी रहेका थिए ।