गोरखा, ९ वैशाख । जनता समाजवादी पार्टी (जसपा) नआएपछि गोरखामा पालिका बाँडफाँडको विषयमा अन्तिम टुङ्गो लगाउन बोलाएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ ।
आज शुक्रबार बिहान ९ बजेदेखि बैठक बस्न नेपाली काँग्रेस, नेकपा माओवादी र नेकपा एकिकृत समाजवादीका नेताहरु बैठक स्थल होटल गार्डेनमा भेला भएपनि जसपाका नेताहरु नआएपछि बैठक स्थगित भएको माओवादीका नेता लोकप्रसाद बञ्जरा (अक्कल)ले जानकारी दिनु भयो । निर्धारित समयभन्दा करिब २ घण्टा कुर्दा समेत जसपाका नेताहरु नआएपछि बिहानको बैठक स्थगित भएको बताइएको छ ।
जसपाका जिल्ला अध्यक्ष यान प्रसाद भट्टले भने पार्टीको आन्तरिक बैठक रहेकाले गठबन्धनको बैठकमा सहभागी हुन नसकेको बताउनु भएको छ । जिल्लामा पालिका बाँडफाडलाई लिएर गठबन्धनमा सकस हुदै आएको छ । केन्द्रको परिपत्र अनुसार २०७४ मा जितेको स्थानमा छोड्न नपर्ने भन्दै काँग्रेसले ९ वटा पालिका दावी गर्दै आएको छ भने माओवादीले ५ र जसपाले ३ पालिकामा आफ्नो दावी प्रस्तुत गरेका छन् । जसका कारण जिल्लामा गठबन्धन हुने वा नहुने भन्ने बिषय अन्योल बन्दै आएको छ ।