रासस, ९ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीसँग विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयसले शिष्टाचार भेटवार्ता गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा उहाँहरूबीच आज बिहान भेटवार्ता भएको राष्ट्रपति भण्डारीका प्रेस सल्लाहकार टीका ढकालले जानकारी दिनु भयो ।उहाँका अनुसार भेटमा राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीमा सबै देशलाई समान तरिकाले डब्लुएचओले खोप वितरण गरेकामा डब्लुएचओ महानिर्देशक डा टेड्रोसलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।
महानिर्देशक डा टेड्रोसले नेपालले कोरोना भाइरस खोप धेरैजसोलाई लगाएकामा कृतज्ञता व्यक्त गर्नु भयो। त्यस अवसरमा महानिर्देशक डा टेड्रोसले राष्ट्रपति भण्डारीलाई नेपालले स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानका बारेमा जानकारी गराउनु भएका थिए । महानिर्देशक डा टेड्रोसले नेपालको स्वास्थ्य नीतिका बारेमा चासो राख्नु भएका थिए।
उहाँले डब्लुएचओले नेपाललाई गर्ने सहयोगका बारेमा पनि राष्ट्रपति भण्डारीलाई जानकारी गराउनु भएको पनि ढकालले बताउनु भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा तीन दिने भ्रमणमा बिहीबार नेपाल आउनु भएका महानिर्देशक डा टेड्रोसले बिहीबार नै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नु भएका थिए।