गोरखा, २४ चैत । नेकपा माओबादी केन्द्र बारपाक सुलिकोट गाउँपालिकाले निर्वाचन परिचालनका लागि ५०१ सदस्सीय समिति गठन गरेको छ । गाउँपालिका पार्टी समितिको आज बसेको पालिका स्तरीय बैठकले गाउँपार्टी समितिका इन्चार्ज बिष्णु भट्टको संयोजकत्वमा निर्वाचन परिचालन मूल समिति गठन गरेको पार्टीका गाउँपालिका अध्यक्ष नरबहादुर गुरुङले जानकारी दिनुभयो । त्यस्तै चैत २६ गतेसम्ममा वडाका लागि अध्यक्ष तथा सदस्यहरु छनोट गरिसक्ने निर्णय समेत बैठकले गरेको उहाँले जानकारी दिनुभयो ।
बैठकले गाउँपार्टी समितिका अध्यक्ष नरबहादुर गुरुङको नेतृत्वमा आर्थिक समिति गठन गरेको छ । त्यस्तै वडा भित्र निर्वाचन अभियानलाई प्रभावकारी बनाउन वडागत कमाण्ड समेत निर्माण गरेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । जसअनुसार वडा नम्बर १ र २ को कमाण्डको जिम्मेवारी गाउँपालिकाकी उपाध्यक्ष समेत रहनु भएकी सनमाया गुरुङ, लालबहादुर गुरुङलाई दिइएको छ ।
त्यस्तै वडा नम्बर ३ र४ को कमाण्डमा धामी बराम र मोहन ढकाल, वडा नम्बर ५ र ६ मा भगवती तिवारी र जीतबहादुर नेपाली, वडा नम्बर ७ र ८ को कमाण्डको जिम्मेवारी कृष्ण गुरुङ र अमर गुरुङलाई दिइएको छ । यस्तै पालिका भित्र निर्वाचन प्रचारप्रसारका लागि जीतबहादुर नेपालीको संयोजकत्वमा प्रचारप्रसार समिति, युवा तथा स्वयसेवक परिचालन समितिको संयोजकमा राजकुमार गुरुङलाई बैठकले चयन गरेको छ ।
बैठकले सवै वडाको बुथमा पार्टीको बुथ कमिटि निर्माण गर्ने तथा पार्टीका टोल समिति र सेल समितिलाई चलायमान बनाउने निर्णय समेत गरेको उहाँले जानकारी दिनुभयो । बैठकमा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण धिताल बिजयले निर्वाचन तयारीका लागि कुनै कसर बाँकी नराख्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।