गोरखा १०, चैत । जनता समाजबादी पार्टी गोरखाले आउदो स्थानिय निर्वाचनमा उम्मेदवार बन्ने उम्मेवारहरुको नामावली यही चैत्र १५ गतेसम्म पार्टी कार्यालयमा पठाउन निर्देशन दिएको छ । पार्टीको प्रदेश कमिटी बैठकले गरेको निर्देशन अनुसार जिल्लाले आगामी बैशाख ३० गते हुने निर्वाचनमा उम्मेदवार बन्न चाहनहरुको नामावली तोकिएको समय भित्र जिल्ला पार्टी कार्यालयमा नामावली पठाउन पालिका तथा वडा पार्टी कमिटिलाई निर्देशन दिएको जसपा गोरखाका जिल्ला सचिव बिपिन चन्द्र ढकालले जानकारी दिनुभयो ।
सचिव ढकालका अनुसार जिल्लाको ११ वटै पालिकालाई पार्टी केन्द्रिय कमिटीले निर्धारण गरेको स्थानिय निर्वाचन कार्यबिधिमा रहेको उम्मेदवार छनौट गर्न निर्देशन समेत दिईएको छ । साथै उम्मेदवार छनौट गर्दा सम्बन्धित तहको कमिटीको बैठक बसी माथिल्लो तहका कमिटीमा रहेका र मतदाता सोही ठाउँमा भएका नेतृत्वको समेत उपस्थितीमा छनौट गर्न निर्देशन जारी गरिएको उहाँको भनाई छ ।
जसपा गोरखाको आजको बैठकले उम्मेदवार छनौटमा तलमाथी नहोस भन्नका लागि भएका निर्णयका कपी समेत जिल्लामा पठाउन निर्देशन गरिएको सचिव ढकालले बताउनुभयो । जिल्लामा स्थानिय तहको निर्वाचन नजिकीदै गर्दा केही राजनैतिक दलहरुले आफ्नो गतिविधीलाई तिब्रता दिन थालेको छ ।