काठमाडौ । अमेरिकी संसदको विदेश मामिला समितिअन्तर्गत एसिया र एसिया प्रशान्त क्षेत्र हेर्ने उपसमितिका संयोजक अमि बेरा सहितको ४ सदस्यीय टोली काठमाडौं आएको छ।भारत र श्रीलंका हुँदै नेपालमा आएको टोली निकै विवादित बनिरहेको एमसिसी अनुमोदनका लागि भेटघाटमा निकै सक्रिय रहेको बुझिएको छ ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी का उपाध्यक्ष जोनाथन ब्रुक्स नेपाल भ्रमण सकेर फर्किएको दुई साता पनि नबित्दै त्यसका पक्षमा ‘लबिङ’ गर्न अर्को अमेरिकी टोली नेपाल आइपुगेको छ। नेपालस्थित अमेरिकी दूतावासले भ्रमणको उद्देश्य अमेरिकी विदेश नीतिको प्रभावकारिता र नेपालमा दिएको सहयोगको मूल्यांकन गर्न भ्रमण भएको उल्लेख गरेको छ।
टोलीले हिजो नै परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र अर्थमन्त्री युवराज खतिवडासँग भेटघाट गरिसकेको छ। टोलीलाई अर्थ मन्त्रालयमा भेटेका अर्थमन्त्री खतिवडाले एमसिसीअन्तर्गत प्राप्त हुने अमेरिकी अनुदान सहायता नेपाललाई चाहिने कुरामा कुनै द्धिविधा नभएको उल्लेख गर्दै सो सहायता सम्झौता संसदबाट अनुमोदन हुने बताउनु भएको थियो।