काठमाण्डौ २३, भदौं । नेकपा एमाले फेरि बिभाजन हुने देखिएको छ । नेकपा माओबादी केन्द्रबाट एमालेमा गएका नेता प्रभु शाहले नयाँ दल दर्ता गर्ने तयारी गरेपछि एमाले दोस्रो पटक बिभाजन हुने देखिएको हो । माओबादी केन्द्रमा रहदा प्रभावशाली नेता साह एमाले र माओवादी केन्द्रको एकताबाट गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं प्रदेश २ अध्यक्षका रूपमा सक्रिय हुनुहुन्थ्यो । नेकपामा विवादपछि उहाँ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिँदै ओली सरकारमा मन्त्रीसमेत बन्नुभएको थियो ।
तर, सर्वोच्च अदालतको फैसलापश्चात एमाले ब्युँतिएपछि यथास्थितिवादी भन्दै एमालेलाई स्वीकार नगरी उहाँ क्रान्तिकारीहरूको ध्रुवीकरणमा लाग्नु भएको हो । नेकपा विघटन भएदेखि नै पूर्वमन्त्री साहले नेकपा एमाले नभई नेकपाकै निरन्तरताका रूपमा अगाडि बढ्नुपर्ने, माओवादी पक्षलाई सहअस्तित्वका रूपमा स्वीकार्नुपर्ने, नेकपाले अवलम्बन गरेकै विचारलाई पार्टीको विचार मान्नुपर्नेजस्ता माग राखेर यथास्थितिमा एमाले स्वीकार्न नसक्ने बताउदै आउनु भएको छ ।
तर, अध्यक्ष ओली यथास्थितिमै बस्न खोजेको आरोप लगाउँदै पूर्वमन्त्री साह क्रान्तिकारीहरूको ध्रुवीकरण गर्दै देशलाई स्थायित्व दिने दिशामा अगाडि बढ्न नयाँ दल दर्ताको अभियानमा जुट्नु भएको हो । तर, नेकपा एमालेले भने पूर्वमन्त्री साहको एकता अभियानलाई सहज रूपमा लिएको छैन । एमालेका एक स्थायी कमिटी सदस्यले पूर्वमन्त्री साहले पार्टी छोडेर जाँदा पनि आफूहरूलाई फरक नपर्ने बताएका छन् ।