Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

रु १० मा पेटभरि बासमती चामलको भात खुवाउने अभियान शुरु


7.4K
Shares

रु १० मा पेटभरि बासमती चामलको भात खुवाउने अभियान शुरु

विराटनगर, पुस १७ रासस । विराटनगरमा थोरै पैसामा पेटभरि खाना खाने प्रबन्ध भएपछि मानिसको भीड लाग्ने गरेको छ । स्थानीय राजनीतिज्ञ एवं समाजसेवी दिलीप धाडेवालको समूहले मानिसलाई रु १० मा पेटभरि खाना खुवाउने प्रबन्ध मिलाएपछि खाना खाने मानिसको भीड लाग्ने गरेको हो । शुरुमा काली मन्दिर अगाडिबाट शुरु गरिएको सो अभियानमा मानिसको चाप बढ्न थालेपछि जैन भवनको अगाडि खाना खुवाउने कार्य भइरहेको धाडेवालले बताउनुभयो ।

बासमती चामलको भात र झोल भएको तरकारी खानामा राख्ने गरिएको छ । एक मानिसले खाना खाँदा रु १० तिर्नुपर्ने र घरका लागि खाना लैजाँदा रु २० तिर्नुपर्ने हुन्छ । कसैले भिखारी वा गरिब मानिसलाई खाना खुवाउन चाहेमा उसले जनही रु ३० तिर्नुपर्ने नियम बनाइएको छ । अभियान शुरु भएको आज १० दिन भएको भन्दै धाडेवालले दैनिक ७०० देखि एक हजार जनासम्मले खाना खाने गरेको बताउनुभयो ।

क्याटरिङ सहयोगी तिरुपति क्याटरिङमार्फत खाना खुवाउने अभियान स्थानीय नन्दु तपडिया, युवा उमेश यादव र मोहम्मद कादिरले पनि सहयोग गरिरहनुभएको छ । “दिनको करिब रु १७ हजार खर्च हुन्छ”, अभियानकर्मी धाडेवालले भन्नुभयो, “यो अभियान अब सधँै रहन्छ, यसका लागि सहयोगीले नाम लेखाइसकेका छन् ।”

एक जना सहयोगीले एक दिनको जिम्मा लिएका छन् । यसबाट यो अभियान सञ्चालन गर्न कुनै कठिनाइ नहुने धाडेवालको जिकिर छ । “वर्षमा ३६५ दिनका लागि ३६५ जना नै सहयोग गर्न तयार छन् अब कसैले सहयोग गर्न चाहेमा अर्को वर्षका लागि ती मानिसको नाम दर्ता हुनेछ र सोहीअनुसार अभियानलाई कायम राखिने छ”, उहाँले भन्नुभयो ।

सस्तोमा खाना खुवाउन शुरु गरेपछि विपन्न मानिस मात्र होइन सम्पन्न मानिसले पनि खाना खाने गरेको र कसैले आफूले खाएको तोकिएको रकमभन्दा बढी दिन खोजेमा सहयोगी पेटिकामा राख्ने गरिएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology