काठमाडौं । उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत बनाउने काम सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार महाराजगञ्ज क्षेत्रबाट विद्युतीय तारलाई भूमिगत बनाउने कामको शुभारम्भ गर्नुभएको हो । उपत्यकाको विद्युत् वितरण प्रणाली अन्र्तगत तारलाई जमिनमुनि बिच्छ्याउने काम पहिलो चरणमा महाराजगञ्ज र रत्नपार्क क्षेत्रबाट सुरु भएको छ ।
यि दुबै ठाउँमा छुट्टा छुट्टै ११ हजार भोल्टेज र ४ सय भोल्टेजको भूमिगत लाइन निर्माण गरिने छ । २ सय ५० किलोमिटर अप्टिकल फाइबर पनि बिछ्याइने छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ असुरक्षित तरिकाले भइरहेको विद्युत् वितरण प्रणालीलाई सुरक्षित बनाउन सरकारले यो काम सुरु गरेको बताउनुभयो ।
विद्युत्का तारहरु भूमीगत हुन नसक्दा धेरै दुर्घटना पनि भएको भन्दै उहाँले अब त्यो रोकिने विश्वास व्यक्त गर्नुभयो । हाल भइरहेको जमिनमाथिको अर्थात् ओभरहेड वितरण प्रणाली भन्दा भूमिगत प्रणाली सुरक्षित हुने र शहरलाई सुन्दर राख्न पनि सहयोग पुग्ने प्राधिकरणको विश्वास छ । तारलाई जमिनमुनि बिच्छ्याउँदा सडकमा कम क्षति हुने गरी प्रविधि प्रयोग गरिने छ ।
सवारीसाधनको आवत जावत र पैदलयात्रीलाई असर नपर्ने गरी राति काम गर्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ । तारलाई भूमिगत गर्दा क्षति पुगेको सडकको मर्मत १० दिनभित्र गरिसकिने समझदारी भएको सडक विभागका महानिर्देशक केशव शर्माले बताउनुभयो ।