काठमाण्डौ १८, साउन । नेपालमा एकैदिन १ लाख ८१ हजार २५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर भेरोसेल र ज्यान्सिन गरेर १ लाख ८१ हजार २५ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन् ।
मन्त्रालयले कोरोनासम्बन्धी तथ्याङ्क सार्वजनिक गर्दै गत २४ घन्टामा देशभर १३ हजार ८ सय ११ कोरोना परीक्षण गर्दै ३ हजार १ सय २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताएको छ ।
मन्त्रालयका अनुसार योसँगै नेपालमा आरटी पिसिआर विधिबाट ६ लाख ९९ हजार ६ सय ४९ जना र ६२ हजार ७ सय ८३ जनामा एन्टीजेन विधिबाट कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये १ हजार ९ सय २५ जना स्वस्थ भएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना सङ्क्रमणपछि निको हुनेको सङ्ख्या ६ लाख ५८ हजार १ सय २२ पुगेको छ ।