काठमाण्डौं ८, साउन । बिल बुक नविकरण, सवारी कर बुझाउन अब कार्यालयमै धाउन नपर्ने भएको छ । बागमती प्रदेशमा आजदेखि अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न सकिने भएको हो । यसअन्तर्गत सवारी कर, जरिवाना लगायतका राजस्व भुक्तानीसँगै नवीकरण अनलाइनबाटै गर्न सकिने छ । प्रदेश राजधानी हेटौंडामा मुख्यमन्त्री डोरमणि पौडेलले बिहान ११ बजे यो सेवाको उद्घाटन गर्दैहुनुहुन्छ ।
कार्यक्रममा अनलाइन प्रणालीमा आबद्ध सेवाहरुको परीक्षण एवं डेमो प्रस्तुत गरी औपचारिक रूपमा यसको सुरूवात गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जिव बरालले जानकारी दिनुभयो । यी सेवा मन्त्रालयको वेबसाइट र नागरिक एपबाट उपलब्ध हुने उहाँले बताउनुभयो । यससँगै बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमार्फत प्रवाह हुने सेवाहरू अबदेखि यही प्रणालीमार्फत अनलाइनमा उपलब्ध हुनेछन् ।
सेवाग्राही आफैंले सूचना प्रणालीमा आफ्नो सवारी साधन तथा अनुमति पत्रको दर्ता, नवीकरण, जरिवाना उल्लंघनन तथा राजस्व बाँकी बक्यौताको अवस्थाको विवरण हेर्न मिल्नेगगरी नागरिक एप तथा सम्बन्धित भुक्तानी सेवा प्रदायकको मोवाइल एप्स तथा वेब पोर्टलमार्फत जानकारी दिन सकिने व्यवस्था गरिएको छ ।