काठमाण्डौं ३, साउन । नेकपा एमाले ओली पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई बिश्वासको मत दिनेहरु एमालेमा रहन नसक्ने निस्कर्ष निकालेको छ । ओली पक्षको आज बसेको स्थायी कमिटीको बैठकले नेपाल–खनाल समुहले देउवालाई बिश्वासको मत दिएरै छोड्ने आंकलन गर्दै देउवालाई बिश्वासको मत दिए पार्टीमा नराख्ने सम्मको निस्कर्षमा ओली समुह पुगेको हो ।
‘बरिष्ट नेता माधवकुमार नेपाल बेग्लै कोर्समा अघि बढेको निष्कर्ष स्थायी कमिटीको बैठकको छ, पार्टीका प्रवक्ता प्रदीप ज्ञवालीले भन्नुभयो, ‘नेपाल एक्लै भए पनि देउवालाई मत दिने पक्षमा हुनुहुन्छ ।’प्रवक्ता ज्ञवालीले आइतबार बिहान पनि बरिष्ठ नेता नेपालसंग भेटबार्ता गरेको जानकारी दिदै उहाँले प्रस्तावको पक्षमा मत हाल्ने कुरा गरेको बताउनुभयो ।
‘नेपाल–खनाल समुहलाई फर्काउनका लागि साथीहरु लागिरहनु भएको छ, उहाँले भन्नुभयो,‘प्रयास कत्तिको सफल हुन्छ या हुदैन पर्खनुपर्छ ।’ उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिनेहरु पार्टीमा नरहने समेत स्पस्ट पार्नुभयो ।