काठमाण्डौं २७, जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा सात मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले विभिन्न मन्त्रालयमा मन्त्री र राज्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ ।
गृहमन्त्रीमा खगराज अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा राजकिशोर यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापा, कृषि तथा पशुपन्छी विकासमन्त्रीमा ज्वालाकुमारी साह, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा गणेशकुमार पहाडी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेर्ने गरी मोहन बानियालाई मन्त्री नियुक्त गरिएको छ । सञ्चारमन्त्री नियुक्त थापा पूर्व गृहमन्त्री रामबहादुर थापाकी श्रीमति हुनुहुन्छ ।
त्यसैगरी, आशाकुमारी विकलाई वन तथा वातावारण मन्त्रालयको राज्यमन्त्रीमा नियुक्त गरिएको छ । २०७८ वैशाख ३१ गते संसदको ठूलो दलको नेताको हैसियतले ओली अल्पमतको प्रधानमन्त्री बन्नुभएको थियो । तर, संसदमा बहुमत पु¥याउन नसक्ने भन्दै मार्ग प्रशस्त गरेका ओलीले संसद विघटन गरेपछि मन्त्रिपरिषद् पुनर्गठन गरेको यो दोस्रोपटक हो । विपक्षी पार्टीहरुले कामचलाउ सरकारको विस्तारलाई असंवैधानिक भन्दै आएका छन् ।