बझाङ, २३ बैशाख ।बझाङमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कैलालीको चुरे गाउँपालिका वडा नम्बर ६ का १८ वर्षका पुरन साउँद रहेका छन् । से २ त २५९६ नम्बरको ट्रयाक्टर ढुङ्गा लोड गरेर लैजाँदै गर्दा सडकबाट अनियन्त्रित भई बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १० खेइरामा दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख तथा प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार हिजो दिउँसो २ बजे ट्याक्टर दुर्घटना भएको हो । दुर्घटनापछि ट्याक्टर चालक फरार रहेका छन् र उनको खोजी भइरहेको पनि खड्काले बताउनुभयो । मृत्यु हुने साउँद ट्याक्टरका सहचालक थिए । दुर्घटनामा परेको ट्रयाक्टर चैनपुर–कुचा सडकखण्ड निर्माणमा खटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।