गोरखा २१, चैत । प्रेस सेन्टर नेपालले नेपाली श्रमजिवी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको यही मिती २०७७ साल चैत २५ गते हुने अधिवेशनको लागि गोरखा जिल्ला अध्यक्षमा दिपक श्रेष्ठलाई उमेदवारीमा उठाउने भएको छ । प्रेस संगठन गोरखाले शनिबार एक विज्ञप्ति जारी गर्दै पत्रकार महासंघको बर्तमान उपाध्यक्ष समेत रहनुभएका श्रेष्ठलाई अध्यक्ष पदमा उठाउने निर्णय गरेको हो ।
अधिवेशनको सन्दर्भमा प्रजातान्त्रिक, लोकतान्त्रिक, प्रगतिशिल, समावेशी, अग्रगामी एवं व्यवसायिक पत्रकारहरुको केन्द्रदेखि जिल्लासम्म गठबन्धन गरी चुनावी मैदानमा उत्रिएको अवस्था विद्यमान रहेको भन्दै सर्वसम्मत रुपमा श्रेष्ठको नेतृत्वमा महासंघलाई अगाडी बढाउने निर्णय गरिएको अध्यक्ष गुणराज रोकाद्धारा बिज्ञप्तिमा उल्लेख छ ।
‘गोरखा जिल्लामा भने सहमति र सहकार्यका साथ गोरखाली पत्रकारहरु पेशागत हकहित तथा सुरक्षा सवालमा एकजुट छन् भन्ने सन्देश प्रवाह गर्न गोरखा जिल्ला पत्रकार महासंघ विगतदेखि नै सफल भएको गौरवपूर्ण ऐतिहासिक विरासत हाम्रा सामु कायम रहेको छ, अध्यक्ष रोकाद्धारा जारी बिज्ञप्तिमा भनिएको छ, प्रेस सेन्टर यही बिरासतलाई अक्षुण राख्दै सर्वसम्मत ढंगबाट अघि बढ्न प्रतिबद्ध छ ।’
तीन दर्जन भन्दा कम पत्रकार सदस्य संख्या रहेको गोरखा जिल्ला शाखा सहमतिका साथ यस अधिवेसनमा समेत अगाडी वढोस् भन्ने हाम्रो संगठनको प्रमुख धारणा रहेको विज्ञप्तिमा उल्लेख छ । केन्द्रिय गठवन्धनलाई स्वीकार्दै चुनावी मैदानमा जानुपरे प्रेस संगठन नेपाल पेशागत हकहित, सुरक्षा र सवलीकरणको सन्दर्भमा पत्रकारिताको मुल्य मान्यता र निष्पक्षता कायम गर्न वर्तमान महासंघका जिल्ला उपाध्यक्ष श्रेष्ठको नेतृत्वमा चुनावी मैदानमा जाने निर्णय गरिएको बिज्ञप्तिमा उल्लेख छ ।
साथै जिल्लामा क्रियाशिल पत्रकारका सबै पेशागत संगठन सँग सहकार्य गरी बार्ता छलफल र संवाद अगाडी वढाउन तथा सर्वसम्मत नेतृत्व चयनको लागि सबै घटक सामु छलफलको लागि संगठनले खुल्ला प्रस्ताव आह्वान गरेको छ ।