काठमाण्डौ ७, चैत । माधव नेपाल पक्षका प्रभावशाली सांसद कृष्णभक्त पोखरेल ओली पक्षले बोलाएको संसदीय दलको बैठकमा सहभागी भएर माफी मागेका छन् । उनले संसदीय दलको बैठकमा उपस्थित भएर केपी ओली नेतृत्वको मूलधारमा लागेको घोषणा समेत गरेका छन् ।
दलको बैठकमा बोल्दै पोखरेलले फागुन २३ को फैसलापछि सबैभन्दा खुसी मनाउनेमा आफू पनि रहेको भन्दै गौरवशाली पार्टी एमाले,जबज र सूर्य चिन्ह पाएपछि आफू केपी ओलीको अभियानलाई सघाउन पूरानो समूह त्यागेर आएको बताए ।
उनले भने( छुट्टै दलको बैठक बस्नुपर्ने कुरा सकियो । म अब मूलधारमा लागेँ,यसबीचमा कहिँ कतै गल्ति भएको भए माफ पाउँ । मेरो गुरु सुवास नेम्वाङलाई मैले भने संसद विघटनमा मेरो असहमति थियो । अब सम्बृद्ध नेपाल बनाउन केपी ओलीको अभियानलाई साथ दिन र पार्टी एकताको लागि म यहाँ आएको छु ।
चितवनबाट निर्वाचित सांसद पोखरेल कानुन व्यवसायी पनि हुन् । उनी नेकपा विभाजनको बेला प्रचण्ड माधव पक्षको प्रतिनिधिका रुपमा अदालत र निर्वाचन आयोगमा जाने गरेका थिए । उनी माधव नेपाल पक्षका प्रभावशाली नेता हुन् ।