गोरखा । गोरखाको सहिद लखन गाउँपालिका ९ नाम्जुङमा सहयोग रकम जुटाएर बस कुर्ने यात्रुको प्रतिक्षालय निर्माण गरिएको छ । देश तथा विदेशमा छरिएर रहेका नाम्जुङबासीको संस्था नाम्जुङ सेवा समाजले सो बस प्रतिक्षालय निर्माण गरेको हो । नवनिर्मित प्रतिक्षालयको शनिबार एक समारोहका बीच शहीद लखन गाउँपालिकाका प्रमुख रमेश थापा मगरले उद्घाटन गर्नुभयो ।
समाजले २३ लाख १५ हजार २२६ रुपैयाँको लागतमा सो प्रतिक्षालय भवन निर्माण गरेको जनाएको छ । गाउँपालिकाबाट प्राप्त नौ लाख ३४ हजार ४८०, वडा कार्यालयबाट प्राप्त दुईलाख रुपैयाँ, नाम्जुङ सेवा समाजले बिभिन्न व्यक्तिहरुबाट संकलन गरेको छ लाख पाँचहजार ३८३ र बाँकी पाँचलाख ७५ हजार ४०२ रुपैयाँको लागतमा प्रतिक्षालय निर्माण गरिएको समाजका अध्यक्ष शिव बञ्जराले जानकारी दिनुभयो ।
प्रतिक्षालय भवनमा दुई वटा तला छन् । बाटो मुनि पर्ने तल्लो तलामा टायल बिछ्याएको पानीसहितको व्यवस्थित महिला र पुरुष सौचालय निर्माण गरिएको छ । माथिल्लो तलामा प्रतिक्षालय र भाडामा पसल चलाउन दिने गरी सटर निर्माण गरिएको ।
सोही सटर भाडाबाट प्राप्त रकमबाट प्रतिक्षालय सरसफाइ गर्ने समाजका अध्यक्ष शिव वञ्जराले जानकारी दिनुभयो । सो कार्यक्रममा गाउँपालिकाका प्रमुख थापा मगर, वडा नं। ९का अध्यक्ष रामप्रसाद लामिछाने, समाजका सचिव रामबाबु रेग्मी, अध्यक्ष बञ्जरालगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।