काठमाण्डौ २३, माघ । पश्चिमी वायुको प्रभावले शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैदेखि पश्चिम नेपालका केही ठाउँमा हल्का वर्षा भइरहेको छ । उच्च हिमाली भूभागमा हिमपात भएको छ ।
आज बेलुकासम्म देशका पूर्वी तथा मध्य भूभागमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । यस प्रणालीको प्रभाव भोलि बेलुकासम्म रहने र पर्सिदेखि मौसम सफा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा वाग्मती प्रदेशमा आंशिक बदली छ ।