काठमाण्डौ ९, पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरे लगत्तै यति बेला ओली समुह बाहेक अन्य राजनीतिक दल, नागरिक समाज लगायत संसद बिघटनको बिरुद्धमा सडकमा छ । संसद बिघटनको बिरुद्धमा मिलेर आन्दोलनमा जानुपर्ने पक्षमा नेकपा प्रचण्ड माधब समुह र जनता समाजबादी पार्टीका नेता डा.बाबुराम भट्टराई रहनु भएको छ । प्रधानमन्त्री ओलीको कार्यशैलीदेखि लामो समयदेखि रुष्ट रहनु भएका भट्टराईले संसद बिघटन अघि नै ओलीलाई एक सेकेण्डमा सत्तामा राख्न नहुने र ओलीको नेतृत्वबाट सम्बृद्धिको सपना पुरा नहुने बताउदै आउनु भएको थियो ।
यस अघि नै ओलीबाट संघिय लोकतान्त्रिक गणतन्त्र खतरामा देख्नु भएको भट्टराईले संसद बिघटन पछि सरकार बिरुद्ध झनै खरो रुपमा प्रस्तुत हुदै आउनु भएको छ । यस बिचमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा।बाबुराम भट्टराई बीच गोप्य भेटघाट भएको छ । लैनचौरस्थित एक व्यक्तिको नीजि निवासमा भएको छलफलमा अहिलेको आन्दोलनमा कार्यगत एकता लगायत पार्टी एकीकरणसम्मको विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
अध्यक्ष प्रचण्ड अहिले सबै कम्युनिस्टलाई एकीकरण गर्ने अभियानमा लाग्नु भएको छ । सोही क्रममा आज उहाँले अध्यक्ष भट्टराईसँग छलफल गरेको स्रोतले जनाएको छ । सो आन्दोलनमा पनि कार्यगत एकता गर्ने र विस्तारै पार्टी नै एकीकरण गर्ने विषयमा छलफल भएको बताइएको छ । स्रोतका अनुसार छलफल सकारात्मक भएको छ । त्यहाँ भएको कुराकानीलाई आआफ्नो पार्टीमा पनि छलफल गरिने त्यसपछि पुनः वार्तालाई अगाडि बढाउने बताइएको छ ।
तत्कालीन एमाले र माओवादीबीच एकीकरण भएपछि नेकपा गठन भएका बेला पनि अध्यक्ष प्रचण्डले डा. भट्टराईलाई पार्टीमा आउन आग्रह गरेपछि भट्टराईले ओलीलाई छाडेर आएपछि मात्र त्यसको बारेमा सोच्न सकिने प्रतिकृया दिनुभएको थियो । अहिले ओलीलाई अलग भइसकेपछि अध्यक्ष भट्टराईसँग एकता गर्न सजिलो हुने धेरैको बुझाई रहेको छ ।