काठमाडौं ५, माघ । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले पहिलो जित हासिल गरेको छ । सोमबार भएको आफ्नो दोस्रो खेलमा गण्डकीले प्रदेश नम्बर–१ लाई २ विकेटले पराजित गरेको हो ।काठमाडौंको मूलपानी क्रिकेट मैदानमा प्रदेश–१ ले दिएको १०३ रनको विजय लक्ष्य गण्डकीले ३७ ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।
गण्डकीका लागि ओपनर अर्जुन कुमाल र दीपक डुम्ररेले समान ३५र३५ रनको योगदान गर्नुभयो। त्यस्तै, अभिशेक थापाले १२ रन बनाउनुभयो ।बलिङतर्फ प्रदेश–१ का लागि मनीष थापा र सुभान्कर उरोले समान २र२ विकेट लिए । त्यस्तै, दिपेश कँडेल र हेमन्त राइले समान १÷१ विकेट लिनुभयो ।
यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले २७ ओभर ४ बलमा अलआउट हुनुअघि १०२ रन बनाएको थियो ।प्रदेश १ का लागि कप्तान सिदान्त लोहनीले सर्वाधिक २४ रनको योगदान गर्नुभयो । त्यस्तै, मनीष थापाले २२ रन बनाउँदा दीपक पासवानले ११ रन जोडेका थिए ।
बलिङतर्फ गण्डकीका लागि विशाल पौड्यलले ह्याट्रिकसहित चार विकेट लिनुभयो । ६ ओभर ४ बल बलिङ गरेका उहाँले सो सफलता हात पारे । उहाँले २८औँ ओभरमा ह्याट्रिक पूरा गर्न सफल हुनु भएको थियो । त्यस्तै, सुवास भण्डारीले ४ विकेट लिन सफल हुनुभयो। गण्डकीका लागि विपीन खत्रीले २ विकेट लिनुभयो ।
जितसँगै समूह ‘ए’ मा रहेको गण्डकीले २ अंक जोडेको छ । यसै समूहमा शीर्ष स्थानमा रहेको आर्मीको ४ अंक रहेको छ । प्रदेश–१ प्रतियोगिताको आफ्नो पहिलो खेलमा नै पराजित हुन पुगेको हो ।