गोरखा, १ माघ। नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज गोरखामा आकस्मिक अबतरण गरिएको छ । काठमाण्डौबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण गोरखाको पालुङटार नगरपालिका–२ आँपपिपलमा आकस्मिक अबतरण भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङले जानकारी दिनुभयो ।
‘कैलास एयरको हेलिकप्टर मध्यान्ह्र करिब १२: ४५ बजे आँपपिपलमा फोर्स ल्याण्डिङ गरिएको हो, उहाँले भन्नुभयो, उक्त हेलिकप्टरमा काग्रेसका सभापति देउवा पर्वत तर्फ जान लाग्नु भएको रहेछ ।’ अचानक मौसममा आएको खराबीका कारण हेलिकप्टर आकस्मिक अबतरण गर्नुपरेको उहाँले बताउनुभयो ।
आकस्मिक अबतरण गरिएको हेलिकप्टर करिब ३५ मिनेटर आँपपिपलमै रोकिएको एसपी गुरुङले जानकारी दिनुभयो । मौसममा सुधार आएलगत्तै हेलिकप्टर पुनः १:२० बजे गोरखाबाट फेरि पर्वत तर्फ उडेको उहाँले बताउनुभयो ।
स्थानियबासी सञ्जिब रानाका अनुसार बाक्लो कुहिरो लागेको कारण रिपगाउँको कोदोबारीमा हेलिकप्टर अबतरण गरिएको थियो । सभापति देउवा पर्वतमा काग्रेसले आयोजना गरेको कार्यक्रममा सहभागी हुन त्यस तर्फ जानु भएको हो । देउवासंगै कांग्रेस नेताहरु गोपालमान श्रेष्ठ र अर्जुन जोशी पनि हेलिकप्टरमा सवार थिए।