गोरखा, २७ पुस । २९९ औं पृथ्वी जयन्तीको तथा राष्ट्रिय एकता दिवसको अबसरमा गोरखाका ५ वटा स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् । आधुनिक नेपाल एकिकरणका अभियान्ता तत्कालिन राजा पृथ्वी नारायण शाहको जन्मथलो समेत रहेको जिल्लाको गोरखा नगरपालिका, पालुङ्गटार नगरपालिका, अजिरकोट गाउँपालिका, सिरानचोक गाउँपालिका र भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।
गोरखा नगरपालिका प्रमुख प्रशाकिय अधिकृत दिनेशराज पन्त, सिरानचोक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रमणी न्यौपाने, भीमसेन थापा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण थापा, अजिरकोट गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत लोकेन्द्र ज्ञवाली र पालुङ्गटार नगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत तेजराज शर्माले सूचना प्रकाशन गरि सार्वजनिक बिदाको जानकारी गराएका हुन् ।
पृथ्वी नारायण शाहको सम्मान र सम्झना एकदिन सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।
सार्वजनिक बिदाका दिन ति गाउँपालिका भित्रका सवै सरकारी कार्यालय, बिद्यालय लगायत सार्वजनिक संघसंस्थाहरु बन्द रहने जनाइएको छ । गोरखाका राजा नरभूपाल शाह र रानी कौशल्यवतीकी जेठा छोराका रुपमा बि.स १७७१ पुस २७ गते जन्मनु भएका पृथ्वीनारायण शाहाले टुक्रिएर रहेका बाइसे चौविसे राज्यलाई एकिकरण गरि आधुनिक नेपाल निर्माण गर्नुभएको इतिहासमा उल्लेख छ ।
पृथ्वी जयन्ती तथा एकता दिवसको अबसरमा आजै गोरखा नगरपालिकाको आयोजना तथा गोरखा युथ क्लबको संयोजनमा द्रव्यशाह चौतारा हुदै ठूलो आँगन, अस्पताल चोक, हरमटारी, पुरानो बसर्पाक हुदै गोरखा दरबारसम्म खुल्ला दौड प्रतियोगिताको आयोजना गरिएको गोरखा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पन्तले जानकारी दिनुभयो ।
त्यस्तै आज नै सदरमुकामको खेलकुद मैदानदेखि हरमटारी हुदै गोरखा संग्राहलयसम्म बिभिन्न जातजातीहरुको झाँकी प्रस्तुत प्रर्दशन गरिने, पत्रकार महासंघ गोरखाको आयोजनामा पृथ्वी नारायण शाहको शालिकमा परिषरमा दीप प्रज्वलन, राप्रपा गोरखाको आयोजनामा पृथ्वी जयन्ती समारोहको आयोजना गरिएको छ ।