चितवन १२, पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पार्टीको माइन्युट र छाप छ भन्दैमा पार्टी आफ्नो हुन्छ भनेर भ्रममा नपर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ। आइतबार भरतपुरमा नेकपा चितवनका अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पाण्डेले यस्तो बताउनु भएको छ ।
सत्ताको दम्भले माइन्युट र छाप लुकाउँदैमा पार्टी र चुनाव चिह्न आफ्नो हुन्छ भनेर तर्क गर्नु मुर्खता सिवाय अरु केही नभएको पाण्डेको भनाई छ । नेकपा पार्टी फुटेको नभै ओलीसहतिका केही मानिस माइन्युट चोरेर भागेको पाण्डेको भनाई छ ।
नेकपाका २५ प्रतिशत केन्द्रीय सदस्य बाहेक ७५ प्रतिशत केन्द्रीय सदस्य अर्थात ३७७ जनाभन्दा बढी सदस्य प्रचण्ड–नेपाल समुहमा रहेकाले नेकपा पार्टी फुटेको नभै केही अधिनायकवादीहरुले मति बिग्रिएर बाटो बिराएकाले आफूहरु नै आधिकारिक नेकपा भएको र चुनाव चिह्न सूर्य पनि आफूहरुले नै पाउने दाबी उहाँको छ ।
निर्वाचन आयोगमा दुई अध्यक्षसहित बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएकाले निर्वाचन आयोगले आफूहरुलाई नै वैधानिकता दिने पाण्डेको भनाई छ ।