काठमाण्डौ १०, पुस । पुनर्निर्माण प्राधिकरण स्थापना पछिका पाँच वर्षमा निजी आवास पुनर्निर्माणमा ९० प्रतिशतभन्दा बढी प्रगति भएको प्राधिकरणले दाबी गरेको छ । पुनर्निर्माण प्राधिकरणका पाँच वर्ष पूरा भएको अवसरमा आज आयोजित प्रेस भेटघाटमा प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ७ लाख ९६ हजार २ सय ४५ लाभग्राहीहरुसँग अनुदान सम्झौता गरिएकोमा ७० प्रतिशतले घर पुनर्निर्माण गरिसकेको र २१ प्रतिशत लाभग्राहीहरु घर पुनर्निर्माणको अन्तिम चरणमा रहेको बताउनुभयो ।
जोखिम एबं विपन्न वर्गका लाभग्राहीहरुको घर पुनर्निर्माणमा सहयोग गरी तोकिएको समयमा सम्पन्न गर्न प्राधिकरणले सहयोग गरिरहेको उल्लेख गर्दै ज्ञवालीले प्राधिकरणले करिब ९०० जना घुम्ति डकर्मी र २५४ जना सामाजिक परिचालकहरुको परिचालनसहित बिशेष अभियानमा अघि बढाएको बताउनुभयो । उहाँले ८१ प्रतिशत विद्यालय, ५८ प्रतिशत स्वास्थ्य संस्थाहरु, ९० प्रतिशत, सुरक्षा निकायका ९६ प्रतिशत, पुरातात्विक सम्पदातर्फ ५१ प्रतिशत र सडकतर्फ ७० प्रतिशत पुनर्निर्माण भएको पनि उल्लेख गर्नुभयो ।
प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणका लागि स्वीकृत पञ्चवर्षीय पुनर्निर्माण तथा पुनस्र्थापना योजना अनुसार परिमार्जित कुल बजेट आवश्यकता ४८८ अर्ब रुपैंया रहेको र हालसम्म नेपाल सरकार एवं दातृ निकायहरुको समेत गरी कूल ३३९ अर्व रुपैँया खर्च भैसकेको पनि जानकारी दिनुभयो ।