पुुस ९ काठमाण्डौ । असंवैधानिक रूपमा प्रतिनिधिसभाको विघटन गरेको भन्दै नेकपाको (दाहाल–नेपाल) समूहले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आज काठमाडौँको बबरमहलमा बसेको केन्द्रीय कमिटी बैठकले प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा संसद् विघटन विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्ने प्रस्ताव पारित गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
आन्दोलनका कार्यक्रम अन्तर्गत पुस १० गते बिहान १० बजे दाहाल–नेपाल पक्षका सबै केन्द्रीय कमिटी सदस्य र सांसदहरू माइतीघरमण्डलामा उपस्थित हुने कार्यक्रम त भएको छ । त्यहाँको प्रदर्शनपछि सोही टोली निर्वाचन आयोगमा जाने निर्णय भएको छ । प्रचण्ड–नेपाल समूहले भोलि नै २ बजे पत्रकार सम्मेलन राखेको छ ।
पुस १४ गते राजधानी र सबै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय पनि भएको छ । विरोध कार्यक्रमअन्तर्गत ११ गते सातै प्रदेशका कमिटीको बैठक आयोजना गर्ने, १२ गते ७७ जिल्लामा जिल्लास्तरीय भेला आयोजना गर्ने तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । बैठकले सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीलगायतको पदपूर्ति गर्ने जिम्मा स्थायी कमिटीलाई दिने निर्णय गरेको छ ।