काठमाण्डौ ७, पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरूलाई निरन्तर अपमान गरेको बताउनु भएको छ ।आफ्नो समूहको केन्द्रीय कमिटी बैठकलाई मंगलबार दिउँसो सम्बोधन गर्दै नेता नेपालले अध्यक्ष दाहालले अपमानको विष पिउन सकेको बताउनुभयो ।
“प्रचण्डलाई कुर्सीबाट हटाइएको छ। म भएको भए त्यो कुर्सीलाई ओलीको नजिक लगेर उहाँको कुर्सी सार्ने थिएँ। तर, उहाँले (दाहालले) अपमानको विष पिउन सक्नु हुँदोरहेछ”, नेता नेपालले भन्नुभयो , “धन्यवाद प्रचण्डजी ओलीबाट यति धेरै अपमानको विष पिउन सक्नुभयो।”
नेता नेपालले ओलीले कहिले पनि बैठक बस्न नचाहेको समेत बताउनुभयो। ओलीले बैठक एकतर्फी स्थगित गरेका पनि उहाँले बताउनुभयो । ओली बैठक बस्दाबस्दै उठेर हिँड्ने गरेको पनि नेता नेपालले स्मरण गर्नुभयो ।उहाँले बैठक बस्नका लागि निकै पापड बेल्नु परेको पनि बताउनुभयो । साथै, ओलीले नेता, कार्यकर्तालाई कहिल्यै न्यायपूर्ण व्यवहार नगरेको उल्लेख गर्नुभयो ।
“सचिवालय बैठक बस्न प्रचण्डले निक्कै प्रयास गर्नुभयो। ओलीले जहिले पनि बैठकअघि शर्तै शर्त राख्नु भयो”, नेता नेपालले भन्नुभयो, “मेरो अपमान गर्न हटाउन खोजेको त होइन’ भन्नुभयो। बैठक बोलाउन ५ जनै बालुवाटार गयौं। उहाँले तोक लागउँछु भनेर निकै हाँस्यास्पद जवाफ दिनुभयो।”
नेता नेपालले पूर्व पार्टी विघटन भइसकेकाले नआत्तिन कार्यकर्तालाई अपील गर्नुभयो । “आत्तिनुपर्ने कुनै कारण छैन। हाम्रो पार्टीको धारा ६० मा स्पष्ट रूपमा लेखिएको छ। हामी अहिले पनि पार्टी फुटको पक्षमा छैनौं। उहाँले त पहिल्यै एमाले दर्ता गराउन लगाइसक्नुभएको छ।”