लाम्जुङ ६ पुस । लाम्जुङमा ओलि पक्षका कार्यकर्ताले प्रचण्ड- नेपाल पक्षका कार्यकर्तालाई आज २ घण्टा पार्टी कार्यलयममै थुनेका छन । एमालेले बनाएको भवनमा बस्न पाइँदैन भन्दै नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका युवा तथा विद्यार्थीहरुले नेकपा लमजुङकी अध्यक्ष मधुमाया अधिकारीलाई २ घण्टा कार्यालयमै थुनिदिएका हुन ।ओली निकट राष्ट्रिय युवा संघ र विद्यार्थी संगठनका नेता कार्यकर्ताले लमजुङको बेसीसहरस्थित पार्टी कार्यालयको अध्यक्ष र सचिवको कार्यकक्षमा ताला समेत लगाएका छन् ।
नेकपाले एकीकरण गर्दा तत्कालीन माओवादी नेत्री मधुमाया अधिकारीलाई अध्यक्ष र एमाले नेता धनञ्जय दवाडीलाई सचिव बनाएको थियो । आज कार्यकक्षमा बसिरहेकी अधिकारीलाई ओली निकट युवा तथा विद्यार्थीले एमालेले बनाएको भवनमा बस्न पाइँदैन भन्दै नाराबाजी गरी ताला लगाएर थुनेका थिए । अध्यक्ष अधिकारीले आफूलाई २ घण्टा कार्यकक्षमा थुनेको जानकारी दिनुभयो ।
युवा र विद्यार्थीले भने अध्यक्षलाई नथुनेको बरु बाहिर आउन आग्रह गरेर ताला लगाएको दाबी गरेका छ्न । ‘आफ्नै अध्यक्ष र प्रधानमन्त्रीलाई घेराबन्दी गरेर असफल बनाउन खोज्नेहरु कार्यालयमा बस्न आवश्यक छैन । एमालेले बनाएको भवनमा बसेर केपी ओलीको विरोध गर्न पाइँदैन, दिइँदैन,’ राष्ट्रिय युवा संघका संयोजक ऋषि बस्नेतले भन्नुभयो ।
अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका युवा, विद्यार्थीलगायतले अर्का अध्यक्ष एवं प्रधानमन्त्री ओलीको कदमको विरोधमा पार्टी कार्यालय नजिक भीमसेनस्थान चोकबाट नाराबाजी गर्दै बजार परिक्रमा गरी शेराचोकमा कोणसभा गरेपछि ओलि पक्षका कार्यकर्ताले यस्तो हर्कत गरेका हुन ।