गोरखा २९, मङ्सिर । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ बारपाक स्थित ताक्लेनान्मा ४५ लाख रुपैयाकाको लागतमा बुद्ध पार्क निर्माण सम्पन्न भएको छ । बारपाक गाउँको सिंगो दृष्य देखिने डाडाँमा निर्माण गरिएको बुद्ध पार्कको एक कार्यक्रमका बिच आज उद्घाटन गरिएको गाउँपालिका अध्यक्ष बिष्णुप्रसाद भट्टले जानकारी दिनुभयो । पार्क भित्र ५ फिट अग्लो बुद्धको मूर्ति सहित मानीहरु राखिएको उहाँको भनाई छ ।
पार्क निर्माणका लागि गाउँपालिकाले ४० लाख र वडा कार्यालयले ५ लाख रुपैया बिनियोजन गरेको थियो । त्यस्तै बारपाकका स्थानीयबासीहरुले समेत पार्क निर्माणमा श्रमदान गरेको उहाँले बताउनुभयो । बौद्ध धर्मालम्बीहरुको बाहुल्यता रहेको बारपाक निर्माण गरिएको बौद्ध पार्कले त्यहाँ पुग्ने पर्यटकहरुलाई सजिलै बुझाउ सकिने अध्यक्ष भट्टको भनाई छ ।
थोरै क्षेत्रफलमा पार्क निर्माण गरिएको भएपनि आर्कषक ढुङगाको प्रयोग गरेर पार्क निर्माण गरिएकाले उत्त पार्कले बारपाकको शोभा झनै बढाइ दिएको छ । ‘पार्कमा प्राकृतिक स्वरुप झल्किएको छ, गाउँपालिका अध्यक्ष भट्टले भन्नुभयो, ‘बारपाक पुग्ने पर्यटकलाई अब एकैछिन भएपनि बौद्धपार्कले अल्मल्याउने निश्चिछ छ ।’ बौद्ध पार्क निर्माण भएसंगै बारपाकमा भित्रै अर्को पर्यटकिय गन्तव्य निर्माण भएको बताउनुभयो ।