काठमाडौँ, २६ असोज । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी अनुसन्धानलाई निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमैत्री बनाउन सूचना प्रविधिको प्रभावकारी सदुपयोग गर्न प्रहरी निरीक्षकहरूलाई निर्देशन दिनुभएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगन्जमा सोमबार प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले प्रहरी सेवालाई प्रभावकारी, पारदर्शी र विश्वसनीय बनाउन प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनुभयो ।
प्रविधिको सही प्रयोगबाट प्रहरीको काम छिटो र सहज हुनुका साथै अपराध नियन्त्रण तथा अनुसन्धानमा प्रभावकारी परिणाम हासिल गर्न सकिने उहाँको भनाइ थियो ।
“अपराधको निष्पक्ष, तथ्यपरक, वैज्ञानिक र प्रविधिमुखी अनुसन्धानका लागि सूचना प्रविधिको सही सदुपयोग गर्नुपर्नेछ,” प्रधानमन्त्री शाहले भन्नुभयो, “यसमा समग्र प्रहरी सङ्गठनको नेतृत्व र प्रशिक्षणलगायतको पनि महत्त्वपूर्ण भूमिका हुन्छ ।”
उहाँले प्रहरी अनुसन्धानलाई समयानुकूल, वैज्ञानिक र परिणाममुखी बनाउन सरकार आवश्यक स्रोतसाधन उपलब्ध गराउन प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो । प्रविधिको विकाससँगै अपराधका स्वरूपमा पनि परिवर्तन भइरहेकाले त्यसअनुसार प्रहरीको कार्यक्षमता र अनुसन्धान पद्धति विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।
प्रधानमन्त्री शाहले प्रहरी सेवामा नैतिकता, निष्ठा र इमानदारीलाई पेसागत सफलताको पहिलो आधार बनाउन आग्रह गर्नुभयो । संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको पूर्ण पालना गर्दै पेसागत आचरण र अनुशासन कायम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
“कुनै पनि पेसागत सफलताका लागि पहिलो मानक नैतिकता, निष्ठा र इमानदारी हो,” उहाँले भन्नुभयो, “सधैँ पेसागत आचरण र अनुशासन कायम गर्दै संविधान, प्रचलित कानुन, नियम, कार्यविधि र मापदण्डको सही रूपमा पालना गर्नु आवश्यक छ ।”
उहाँले प्रहरीको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न जवाफदेहिता पनि उत्तिकै महत्त्वपूर्ण हुने बताउनुभयो । प्रहरी अधिकारीले आफ्नो जिम्मेवारीप्रति उत्तरदायी हुँदै कानुनको सीमाभित्र रहेर काम गर्नुपर्ने उहाँको भनाइ थियो ।