Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

बुढीगण्डकी बाढीले दुई झोलुङ्गे पुल र दुई फलामे पुल बगायो, घरहरूमा क्षति


280
Shares

बुढीगण्डकी बाढीले दुई झोलुङ्गे पुल र दुई फलामे पुल बगायो, घरहरूमा क्षति

गोरखा २५ असोज । गोरखाको बुढीगण्डकी नदीमा आएको बाढीले दुईवटा झोलुङ्गे पुल र दुई फलामे पक्की पुल बगाएको छ। बाढीले चुमनुब्री र धार्चे गाउँपालिकाका विभिन्न बस्तीमा घर तथा टहरामा क्षति पुर्‍याएको छ भने धार्चे गाउँपालिका–३ सल्लेरीका २० देखि २२ वटा घर जोखिममा परेका छन्।

चुमनुब्री गाउँपालिका–६ लोक्पा र चुम्लिङबीच पहिरो खस्दा थुनिएको बुढीगण्डकी नदीमा आएको बाढीले तल्लो तटीय क्षेत्रमा क्षति पुर्‍याएको हो। उपलब्ध विवरणअनुसार बाढीले गोरखाका विभिन्न स्थानमा पुल बगाउनुका साथै बस्तीमा समेत असर पारेको छ।

चुमनुब्री गाउँपालिका–३ न्याकचेतस्थित न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ। सोही वडाको सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ।

त्यसैगरी, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ। माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा पाँचदेखि सातवटा घर र पाँचदेखि सातवटा टहरामा बाढी पसेको विवरण प्राप्त भएको छ।

धार्चे गाउँपालिका–३ सल्लेरीका २० देखि २२ वटा घर जोखिममा रहेका छन्। यस्तै, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बाढीले बगाएको छ। गोरखा आरुघाट जोड्ने पक्की पुल पनि बाढीले बगाएको छ । बाढीबाट प्रभावित क्षेत्र तथा संरचनाको क्षतिबारे थप विवरण उपलब्ध छैन।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology