Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

नवलपरासी पूर्वमा बस दुर्घटना : ६ जनाको मृत्यु, १० घाइते


259
Shares

नवलपरासी पूर्वमा बस दुर्घटना : ६ जनाको मृत्यु, १० घाइते

 

नवलपरासी, १७ असोज । नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित पूर्व–पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् ।

सशस्त्रका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा खसेर दुर्घटना भएको हो ।

बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा छ जनाको मृत्यु भएको, १० जना घाइते भएको र दुई जना सकुशल रहेको उहाँले जानकारी दिनुभयो ।

दुर्घटनामा मृत्यु हुनेमध्ये जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। अन्य पाँच जना मृतकको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घाइते हुनेमा गोरखा नगरपालिका–९ का ३० वर्षीय हरिशरण थापा, अछामको मंगलसेन नगरपालिका–६ का २८ वर्षीय तेजेन्द्रप्रसाद भण्डारी, बर्दियाको ठाकुरबाबा नगरपालिका–१ की २० वर्षीया आकृती, बाजुराको स्वामीकार्तिक गाउँपालिका–५ का ३२ वर्षीय पवन बुढा, बर्दियाको राजापुर नगरपालिका–९ का २८ वर्षीय सञ्जय थारु, बाजुराको स्वामीकार्तिक गाउँपालिका–१ का २५ वर्षीय प्रेम बम, ललितपुरको कोन्ज्योसोम गाउँपालिका–५ का २९ वर्षीय अनोज खत्री, बर्दियाको बाँसगढी नगरपालिका–७ का ३६ वर्षीय लालबहादुर कार्की, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ का ४८ वर्षीय अस्लाम भगवान र सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ का २१ वर्षीय अनिल बुढाथोकी रहनुभएको छ ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक थमनसिंह रानाको कमान्डमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो। टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल, डण्डा पुर्‍याएको प्रहरीले जनाएको छ। घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology