मनाङ ११ असोज । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालमा आइतबार बिहान हिमपहिरो गएको छ। हिमपहिरोमा परी मानवीय क्षति भएको आशंका गरिएको छ। प्रहरीका अनुसार हिमाल आरोहणका लागि गएका २२ जना नेपाली नागरिकमध्ये करिब एक दर्जन सम्पर्कविहीन भएको आशंका गरिएको छ। उनीहरूमध्ये ९ जना पर्वतारोही र १३ जना सहयोगी स्टाफ रहेका छन्।
हिम्लुङ हिमालमा गएका २२ जनामध्ये कोही पनि विदेशी नागरिक नरहेको प्रहरीले जनाएको छ। हिमपहिरोपछि सम्भावित क्षतिको विवरण संकलन तथा बेपत्ताको खोजी र उद्धारका लागि काठमाडौंमा रहेको हेलिकप्टर मनाङतर्फ पठाइएको छ। घटनास्थलमा उद्धार टोली परिचालन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ। हिमपहिरोमा परेर कति जनाको अवस्था के छ भन्नेबारे भने अहिलेसम्म यकिन विवरण प्राप्त हुन सकेको छैन।
घटनास्थलमा उद्धार टोली पुगेपछि मात्रै मानवीय तथा भौतिक क्षतिको वास्तविक विवरण खुल्ने प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बलका केन्द्रीय सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाका अनुसार उद्धार प्रयास भइरहेको र थप विवरण प्राप्त हुन बाँकी रहेको जानकारी दिएका छन्।